-भक्तराज रसाइली 
काठमाण्डौ । सेयर बजारले धेरैको जीवन बनाएको छ । यो क्षेत्रमा लागेर अरुको पछाडि कुद्नेहरुले सर्वश्व गुमाएका पनि छन् । 

केही महिनाअघि नेप्से इण्डेक्स १८८१ को सर्वाधिक विन्दूमा पुगेपछि सेयर बजारबाट रातारात करोडपति बन्ने सपना पाल्नेहरुको संख्या ह्वात्तै बढ्यो । यस्तै सपना साकार पार्ने अभिलाषासहित विभिन्न वर्ग, तप्का, क्षेत्र तथा उमेर समूहका मानिस लगानीकर्ताको रुपमा बजारमा छिरे । 

यस्तै १५ लाख भनिएका लगानीकर्ताको भीडमा भेटिने एक ठिटो, अमन बलामी लोभलाग्दो व्यक्तित्व बनाइसकेका पात्र होइनन् । उनी बजारका सफल लगानीकर्ता पनि होइनन् । तर, सेयर बजारप्रति उनमा देखिएको अगाध प्रेम र यसैबाट करोडपति बन्ने कलिलो सपना भने सबैका लागि पठनीय र अनुकरणीय बन्न सक्छ । 

त्यति मात्र होइन, हुने बिरुवाको चिल्लो पात भने झै ठिटो अवस्थाबाटै लगानीको सही परिचालन कसरी गर्न सकिन्छ र किशोरावस्थालाई मोजमस्तीको अवस्था भन्दा पनि जिम्मेवार बनेर सुन्दर भविष्यका पूर्वाधार बनाउने स्वर्णिम समय कसरी बनाउन सकिन्छ भन्ने कुराका लागि बलामी उदाहरण बन्न सक्छन् । 

हाल किङ्गस कलेजमा बीबीएअन्तर्गत लगानी विषयमा अध्ययनरत १९ वर्षीय बलामी परिवारका एक्ला सन्तान हुन् । यो उमेरमा साथीभाइसँग रमाइलो गर्ने र मोजमस्तीमा बिताउने धेरै भेटिन्छन्, तर उनी भने बेलैदेखि पूँजीबजारमा एक खेलाडीको रुपमा प्रवेश गरेका छन् । 

बलामी कुलेखानी मकवानपुरका स्थायी बासिन्दा हुन् । हाल बानेश्वरमा बसोबास गर्दै आफ्नो अध्ययनका साथै सेयर बजारमा लगानी गरेर पैसा कमाइरहेका र साथीभाईको खाजा खर्च समेत बटूलेर त्यसलाई पूँजी निर्माणमा लगाइरहेको एउटा ठिटोको आँट गज्जब लाग्यो हामीलाई ।

उनले सेयर बजारमा प्रवेश गरेको २ वर्ष मात्र भयो । कलेजमा साथीहरुको बिजनेसमा रहेको संलग्नता र सेयर बजारमा मारवाडी समुदायको सक्रियतालाई नजिकैदेखि नियालेको र सेयर बजारबारे रिसर्च गरेरै आफू आएको दाबी गर्छन् ।

आफ्ना घरबेटीकी छोरी चाँदनी श्रेष्ठको संगत र आफूलाई पनि रस पसेकाले सेयर बजारमा लगानी गर्न ठोक्किएको उनको भनाई छ । मध्यम परिवारबाट आएको दाबी गर्ने बलामी विदेशमा नगई स्वदेशमै केही गर्ने अठोटका साथ आफू  सक्रिय भएको बताउँछन् । भविष्यमा इण्डष्ट्रियल हुने चाहना पालेका उनी कम्पनी खोल्न समेत इच्छुक छन् ।

१२ कक्षाको पढाइसकेपछि काठमाण्डौका किशोरहरु बिदेश अध्ययनको परिपाटी र चलनबाट अछूतो नरहेका उनले पनि अमेरिका जानका लागि भिसा आवेदन दिएका थिए । उनलाई अमेरिकाबाट अफर लेटर समेत आएको थियो । तर, नेपालकै सेयर बजारमा केही गर्ने उनीभित्रको हुटहुटीले त्यसलाई समेत उनले त्यागे । अरु त अरु उनले आफ्नै आमा नानीमाया बलामीलाई समेत भिषा नलागेको भनेर ढाँटे । अमेरिकाको भिसा नलागेको भनेर आमालाई ढाँट्नु पछाडिको कारण उनमा सेयर बजारमा लगानीका लागि चढेको भूत नै मुख्य थियो । एक हिसाबले भन्दा उनी सेयर बजारको मोहजालमा फसेका एक पागल प्रेमी हुन् । 

आफ्नी आमाबाट पाएको १० हजार र बाबाले दिएर जोगाएको पकेट मनी ५० हजार गरेर जम्मा ६० हजारको लगानीबाट एकैपटक उनले दोश्रो बजार प्रवेश गरेका थिए । त्यत्तिबेला सानिमा बैंकको ९५ कित्ता ४ सय ३५ प्रतिकित्ताका दरले खरिद गरेको उनी सम्झन्छन् ।

अब सेयर बजारमा लागेर आफूले पनि सेयरबाट करोडपति हुने लक्ष्य राखेको बताउने बलामी भन्छन्–‘अब सेयर बजारलाई नै करिअर बनाउँछु ।’ 
नेप्से इण्डेक्स बियरिस ट्रेण्डमा हुँदा समेत उनको पोर्टफोलियोमा १० प्रतिशत मात्र गिरावट आएको उनको दाबी छ ।

सेयर बजार आउनुअघि योसँग सम्बन्धित बिदेशी लेखकका पुस्तक र नेपाली आर्टिकलहरु पढेर उनले ज्ञान बटुलेका थिए । उनले सेयर बजारको बिषयमा बुझ्न र यसका पछिल्ला अपडेट थाहा पाउन यूट्यूब, फेसबुक लगायतका सामाजिक सञ्जालको समेत भरपूर प्रयोग गर्छन । 

साना लगानीकर्तालाई त ठूला लगानीकर्ताले ख्वाप्पै खाइदिन्छन् रे नि मार्केटमा ? भन्ने बिजशालाको जिज्ञासामा उनको उत्तर छ–‘ठूला पनि सानै भएर गएका हुन्, बजारप्रति म पूर्ण भरोसा गर्छु । कम्पनीको विश्वास र विश्लेषण नै मेरो लगानी रणनीतिको प्रमुख हतियार हो ।’

यत्ति सानो उमेरमा नै सेयरमा लगानी किन भन्ने प्रश्नमा उनी भन्छन्–‘वर्क हार्ड इन इयर ट्वान्टी, चिल इन फोर्टी ।’ 

आफूजस्तै उमेरकाहरुले समेत पकेट खर्च जोगाएर सेयरमा लगानी गरे आर्थिक भविष्य सुनिश्चित हुने उनको सुझाव छ ।

माइक्रोफाइनान्स, इन्स्योरेन्स र विकास बैंक लगायत ११ वटा कम्पनी आफ्नो पोर्टफोलियोमा पारेको बताउने बलामीले कूल लगानीको ८० प्रतिशत दीर्घकालीन र बाँकी २० प्रतिशत अल्पकालीन कारोबारका लागि छुट्याउने गरेका छन् । 

भविष्यमा बलामीले थप लगानी बढाउँदै लैजाने अनि रातारात धनी हुने सपना सँगालेका छैनन् । तर, निरन्तर लगानी र धैर्यताको निकै लामो समयपछि कुनै एकरातमा आफू करोडपति बन्ने सपना सँगालेका छन् ।

आधिकारिक न्यूज र कम्पनीप्रतिको व्यवस्थापनप्रति सूक्ष्म विश्लेषण गर्ने गरेको र यही नै आजसम्मको सफलताको आधार भएको उनको धारणा छ । 
उनले आफूले मात्र लगानी गरेका छैनन् । आफन्त र साथीभाइहरुको विश्वास जित्दै १३ जनाबाट जम्मा ३ लाख लगानी जुटाएर सानो पोर्टफोलियो बनाई ती १३ लगानीकर्तालई विगत सालदेखि वार्षिक १८ प्रतिशतको प्रतिफल समेत दिइरहेका छन् ।

सेयर बजारको कमाईलाई पुनः सेयर बजारमै लगानी गर्ने गरेका यी किशोरले बजारमा लगानीप्रतिको भरोसायुक्त वातावरण बनाउन नियामकलाई आग्रह गरेका छन् ।

आफ्नो सपनालाई पूरा गर्ने बिजशालाले सहयोगी भूमिका खेलेको र आफू बिजशालाको हरेक आर्टिकलमार्फत सूचना लिएर प्रत्येक दिन लाभान्वित भइरहेको समेत उनले कुराकानीको क्रममा सुनाए ।

आफ्नो उमेर बढेसँगै लगानी बढाउँदै जाने र सेयर बजारलाई भरोसायोग्य बनाउने आफ्नो सपना रहेको बताए । ‘म विदेश जाँन्न । यही बसेर पैसा कमाउँछु ।’ उनले कुराको बिट मार्दै भने–‘हाम्रो सेयर बजारलाई विश्वस्तरीय बनाउनुपर्छ । पैसा कमाउनैका लागि विदेश गइरहन आवश्यक छैन । बुद्धिमतापूर्वक सेयरमा लगानी गरे करोडपति बन्न सकिन्छ भन्नेमा म ढुक्क छु ।’