एजेन्सी । नेपालका राजनीतिक दलका अनेक खालका चुनाव चिन्ह छन् । एमालेले सूर्यलाई आफ्नो चुनाव चिन्ह बनाउने गरेको छ भने कांग्रेसले रुख तथा माओवादीले हसियाहथौडालाई । मधेशवादी दलमध्ये कसैले तीर, कसैले मसाल लगायतलाई चुनाव चिन्ह बनाउने गरेका छन् । राप्रपा नेपालले गाईलाई चुनाव चिन्ह बनाउने गरेको छ भने राप्रपाले हलो तथा अन्य साना दलहरुले अनेक खालका वस्तु, जनावर तथा चरालाई चुनाव चिन्ह बनाउने गरेका छन् । 

चुनाव चिन्हको रोचक कथा नेपालमा मात्रै छैन । अहिले विश्वकै ध्यान तानिरहेको अमेरिकी राष्ट्रपति निर्वाचनका दुई प्रत्यासीको दलले प्रयोग गर्दै आएको चुनाव चिन्हको कथा पनि निकै रोचक र चाखलाग्दो छ । 

हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पबीचको तीव्र प्रतिस्पर्धाका कारण अहिले अमेरिकामा ‘गधा  कि हात्ती ?’ भन्ने लहर छाएको छ । 

कारण, अमेरिकाको रिपब्लिकन पार्टीको चुनाव चिन्ह हात्ती हो भने डेमोक्रेटिक पार्टीको चुनाव  चिन्ह गधा हो । 

डेमोक्रेटिक पार्टीको गधाको किस्सा(कथा) निकै रोचक छ ।

सन् १८२८ मा तत्कालीन राष्ट्रपति चुनावका लागि गधाको पोस्टरलाई प्रयोग गरिएको थियो । कारण त्यसबेला डेमोक्रेटिक पार्टीका उम्मेद्वारलाई विपक्षीहरुले ‘गधा’ नामले पुकार्थे । त्यसपछि डेमोक्रेटिक पार्टीका अर्का उम्मेद्वार थोमस नस्टले पनि गधाकै कार्टुन आफ्नो चुनावी प्रचारमा प्रयोग गरे । यही क्रम लगातार रहँदा १९ औं  शताब्दीको अन्ततिरै यो पार्टीको चुनाव चिन्ह गधा लोकप्रिय भइसकेको थियो । 

रिपब्लिकन पार्टीको चुनाव चिन्ह हात्तीको कहानी पनि कम रोचक छैन ।

पूर्व राष्ट्रपति अब्राहम लिंकनको चुनावी अभियानमा इलिनायको एक स्थानीय अखबारले हात्तीको प्रयोग रिपब्लिकन पार्टीको अभियानका लागि गर्यो । 

यसको कारण सायद हात्तीको शक्तिको प्रयोग भएको भन्ने संकेत गर्न खोजिएको थियो कि भन्ने  अनुमान लगाइन्छ । 

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा समेत लगभग सबै राज्यमा ह्याट, टीसर्टस्, मोवाइल फोनको कभर र झण्डामा  समेत दुवै पार्टीको रंगको साथमा चुनाव  चिन्ह समेत देख्न सकिन्छ । 

केही घण्टापछि नै थाहा हुनेछ कि यसपटक अमेरिकामा हात्ती वा गधा को शक्तिशाली  ठहरिन्छ भन्ने कुरा । 
बीबीसीबाट भावानुवाद