काठमाण्डौ । कोरोना महामारीका कारण कमजोर बनेको अमेरिकी रोजगार बजारमा पुनरागमन देखिएको छ।

अर्थशास्त्रीहरुले महामारीको चक्रब्युहबाट बाहिर आउने बाटोमा अग्रसर भएको अमेरिकी रोजगार बजारमा अर्काे रेकर्डतोड महिना देखिने आशा गरेका छन्। तथापि अमेरिकामा रोजगार संकट अन्त्य हुन अझै लामो समय लाग्ने बताइएको छ। 

एक अनुसन्धानका अनुसार अमेरिकामा जुन महिनाभर करिब ३० लाख मानिसले रोजगार प्राप्ति गरेका छन्। त्यस्तै मे महिनामा २५ लाखले काम पाएका थिए। 

जुन महिनामा रोजगारमा देखिएको यो वृद्धिले मे महिनामा १३.३ प्रतिशतमा रहेको बेरोजगारी दरलाई १२.३ मा घटाएको छ।

फेब्रुअरी महिनामा अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशतका साथ ५० वर्षयताकै न्यून विन्दुमा थियो। अहिले अमेरिकामा रोजगारीको दरमा देखिएको वृद्धिलाई सकारात्मक रुपमा लिइएपनि फेबु्रअरी देखि अझै १६.६ मिलियन मानिसहरु रोजगारविहीन बनेका छन्। 

अमेरिकाको केन्द्रीय बैंकका अध्यक्ष जेरामी पावेलका अनुसार अमेरिकामा बेरोजगारको पीडा सबै क्षेत्रमा समान रुपमा देखिएको छैन। उनका अनुसार निम्न पारिश्रमिक भएका, महिला, अफ्रिकी मूलका अमेरिकी र काला जातिका मानिसमा बेरोजगारको समस्या मुख्य रुपमा देखिएको छ। 

एडीपी इम्प्लोइमेन्टको प्रतिवेदनका अनुसार जुन महिनामा २.४ मिलियन अमेरिकीहरुले निजी कम्पनीहरुमा काम पाएका छन्। यो संख्या अर्थशास्त्रीहरुले प्रक्षेपण गरेको ३ मिलियनभन्दा कम हो। आतिथ्य सत्कार र लिजर सेक्टरमा अधिकांशले काम पाएका छन्। 

अमेरिकी व्यापार व्यवसाय फेरि सुचारु हुन थालेपछि त्यहाँको श्रम बजारमा सुधार देखिने विश्वास लिइएको छ। तथापि कोरोना संक्रमणमा देखिएको वृद्धि र महामारीको मन्दीको प्रभाव अझै केही उद्योगमा बाँकी नै रहेकाले समस्या हल भइसकेको छैन। – एजेन्सी