काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकालाई कोरोनाभाइरसले फेरि एकपटक झट्का दिएको छ । अप्रिलदेखि जुन महिनासम्ममा(वर्षको दोस्रो त्रैमासमा) अमेरिकी अर्थतन्त्रमा ३२.९ प्रतिशतको गिरावट आएको छ । यो अमेरिण्की अर्थतन्त्रमा देखिएको अहिलेसम्मको सबैभन्दा ठूलो गिरावट हो । 

कोरोनाको प्रभावका कारण अमेरिकाको बेरोजगारी दर १४.७ प्रतिशत पुगेको छ । 

अमेरिकाको वाणिज्य मन्त्रालयका अनुमानअनुसार अहिले देखिएको जीडीपी र वस्तु तथा सेवा उत्पादनको गिरावट सन् १९४७ पछिकै सबैभन्दा धेरै हो । यसअघि सन् १९५८ को त्रैमासमा सबैभन्दा धेरै अर्थात १० प्रतिशतको गिरावट देखिएको थियो । त्यतिबेला जनवरीदेखि मार्चसम्मको त्रैमासमा अमेरिकी अर्थतन्त्रमा ५ प्रतिशतको गिरावट देखिएको थियो । 

अहिले कारोना महामारीका कारण अमेरिकाको अर्थतन्त्र आर्थिक मन्दीतर्फ उन्मुख भइरहेको छ । यो वर्षको दोस्रो त्रैमासमा अमेरिकाको अर्थतन्त्रमा देखिएको गिरावटले ११ वर्षसम्मको निरन्तरको आर्थिक वृद्धिलाई ब्रेक लगाएको छ । 

दोस्रो त्रैमासमा उपभोक्ता खर्चका साथै लगानी र आवास हाउजिङ खर्चमा समेत गिरावट आएको छ । आँकडाका अनुसार दोस्रो त्रैमासमा लगानी खर्चमा २७ प्रतिशत र आवास र हाउजिङ खर्चमा ३८.७ प्रतिशतको गिरावट आएको छ । यसका साथै करबाट आउने राजश्वमा कमी आउँदा राज्य र स्थानीय सरकारहरुको वार्षिक खर्चमा ५.६ प्रतिशतको गिरावट आएको छ । 

तथापि समग्र सरकारी खर्चमा २.७ प्रतिशतको वृद्धि भएको छ । यसको आथै केन्द्रिय सरकारको खर्चमा १७.४ प्रतिशतको वृद्धि भएको छ । अमेरिकी सरकारले कोरोनाभाइरसको नकारात्मक प्रभावसँग जुध्नका लागि २ ट्रिलियन डलरभन्दा धेरै खर्च गरेको छ । 

यसमा साना व्यवसायी र बेरोजगारहरुलाई प्रतिव्यक्ति १२०० डलर सहायता पनि समावेश छ । 

अमेरिकी अर्थतन्त्रमा जब मार्केट एउटा बलियो खम्बा हो । तर कोरोनाभाइरसले यो खम्बालाई पूर्ण रुपमा धरासायी बनाएको छ । पछिल्लो १९ सातामा करीब १० लाखभन्दा धेरै अमेरिकीहरुले बेरोजगार भत्ताका लागि आवेदन दिएका छन् । गुमेको रोजगारमा अहिलेसम्म एक तिहाई मात्रै रिकभरी भएको छ । तर कोरोनाभाइरसको बढ्दो संक्रमणका घटनाहरुले रोजगार बजारको रिकभरीलाई सुस्त बनाउनसक्ने सम्भावना रहेको छ ।    

विश्लेषकहरुले जुलाईदेखि सेप्टेम्बरसम्मको तेस्रो त्रैमासमा पनि अमेरिकी अर्थतन्त्रमा गिरावट आउने अनुमान लगाएका छन् ।