काठमाण्डौ । अरब देशका शेखहरुमाथि निकै ठूलो आर्थिक संकट आउन लागेको छ । कुनै बेला विश्वभरका तमाम देशलाई तेल बेचेर शानको जिन्दगी जिउने शेखहरुले कमाउनका लागि दोश्रो विकल्प खोज्नुुपर्ने आवश्यकता पर्न थालेको छ । एक रिपोर्टमा यसको स्पष्ट संकेत दिइएको छ । आइएमएफले आफ्नो रिपोर्टमा स्पष्ट भनेको छ कि अरब देशहरुले आम्दानीका लागि चाँडो भन्दा चाँडो विकल्पहरुको बिषयमा सोच्नुुपर्ने बेला भइसकेको छ । 

खासमा यो रिपोर्टले अरबका धनाढ्यहरु शेखहरुलाई मात्र होइन, कयौं देशका हजारौं मानिसहरुलाई समेत झट्का दिएको छ । खाडी मुलुकको धनाढ्य र स्वयम् देशको अर्थतन्त्र बिग्रिदा त्यसले नेपाली अर्थतन्त्रलाई समेत डामाडोल बनाइदिनसक्छ । अरबका शेखहरु संकटमा फस्दा यसको असर त्यहाँ कार्यरत हजारौं नेपाली, भारतीय र अन्य देशका कामदारहरुमाथि पर्नेछ।

खासगरी अब अरब देशहरुको तेलबाट हुने कमाई निकै घट्न थालेको छ । साउदी अरब, ओमान, यूूएई, बहराइन तथा कुवेत जस्ता वर्षौदेखि विश्वलाई तेल बिक्री गरेर भारी कमाई गरिरहेका थिए । तर, पछिल्लो केही महिनादेखि उनीहरुको तेलको खेल कमजोर बन्दै गएको छ । यस्तो अवस्थामा यी देशहरुको अर्थव्यवस्था संकटमा फस्न लागेको छ । यी देशहरुको अर्थव्यवस्था कमजोर हुँदाको असर त्यहाँ कार्यरत लाखौं कर्मचारी तथा कामदारमाथि पर्नेछ, जसको संकेत देखिइन थालेको मिडिया रिपोर्टमा उल्लेख छ । 

नेपालबाट वैदेशिक रोजगारीमा साउदी अरब तथा अन्य खाडी मुलुकमा लाखौं युवा गएका छन् । ती देशहरुको अर्थतन्त्र संकटमा फस्दा उनीहरुले समेत घर फर्किनुपर्नेछ । लाखौं युवा बेरोजगार भई नेपाल फर्कने छन् । यसले नेपालमा भित्रिने रेमिटान्समा पहिरो गई नेपालको रेमिटान्समुखी अर्थतन्त्र पनि धरमराउन सक्छ । त्यसो त पछिल्ला दिनहरुमा अरब देशहरुबाट नेपालमा आउने रेमिटान्स घट्दो क्रममा छ, यो भनेकै ती देशमा आउन लागेको संकटको पूर्व संकेत रहेको विश्लेषकहरुले बताएका छन् । 

स्मरण रहोस्, वैदेशिक रोजगारीमा गएका नेपालीहरुमध्ये खाडी मुलुकमा मात्रै ५७ प्रतिशत रहेका छन् ।