- भक्तराज रसाइली

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त ब्रोकर नम्बर ४४ अर्थात् डाइनामिक मनी मेनेजर्स सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष हुन्, मधु जोशी । 

आर्ट अफ लिभिङका प्रशिक्षक र लायन्स क्लबका सभापति जोशी काठमाण्डौ डिल्लीबजारका रैथाने बासिन्दा हुन् । शंकरदेव क्याम्पसबाट एमबीएस (फाइनान्स) र सीए (एसीसीए) उत्तीर्ण जोशी केही समय अघिसम्म अध्यापकका रुपमा कार्यरत पनि थिए । 

२०५०/५१ सालतिर घरबाट आईपीओ भर्न पठाउने र धितोपत्र बोर्डको कार्यालय डिल्लीबजारमा भएकोले सेयर बजारप्रति त्यहाँको माहौलले जोशीको पनि सेयर बजारप्रति मोह बढ्दै गयो । व्यक्तिगत तबरले जोशीले चाहिँ दोस्रो बजारमा लगानीकर्ताका रुपमा २०५८ सालमा पाइला टेके । नेप्सेले २०६४ सालमा नयाँ ब्रोकर लाइसेन्स खुलाउँदा परीक्षा दिएर उत्तीर्ण गरेका जोशी हालसम्म ब्रोकर पेशामा नै रमाइरहेका छन् । 

डाइनामिक मनी मेनेजर्स प्रालिको स्थापना २०६३ सालमा भए पनि २०६८ सालबाट धितोपत्र कारोबारको शुभारम्भ गरेको हो । पाँचजना प्रमोटर रहेको यो कम्पनीमा एमडीका रुपमा रमेश कुँवर रहेका छन् । 

कम्पनीको चुक्ता पूँजी रु. ५ करोड रहेको छ भने नेटवर्थ रु. ६.५ करोड (अघिल्लो आर्थिक वर्ष) रहेको छ । कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको कृष्णपाउरोटी चोकमा अवस्थित छ । बनेपामा यसको शाखा कार्यालय रहेको छ । डाइनामिकले पोखरामा पनि थप शाखा विस्तारका लागि बोर्डमा आवेदन पेस गरेको छ । केन्द्रीय कार्यालय र शाखामा गरी हाल २० जना कर्मचारी कार्यरत छन् ।

डाइनामिकले डीपी सेवासमेत दिइरहेको जनाएको छ । सन् २०१५ बाट सुरु भएको सेवामा ८ हजार व्यक्तिगत डिम्याट खाता र संस्थागततर्फ ७८ जनाले डिम्याट खाता खोलेको कम्पनीले जानकारी दिएको छ ।

डाइनामिकमा दैनिक कारोबारी ४०–५० जना रहेकामा दैनिक लगानीकर्ताको उपस्थिति २५–३० जना रहेको छ । कम्पनीमा कुल ७ हजार ९९० जनाको केवाईसी खाता अपडेट रहेको छ । कार्यालय समयको हकमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म सेवा दिइरहेको कम्पनीको भनाइ छ ।

कम्पनीले तेस्रो त्रैमासमा कुल १७६ कम्पनीका साढे ४ अर्ब रुपैयाँबराबरको धितोपत्र कारोबार गरेको छ भने चालु आ.व.को जेठ मसान्तसम्म कुल १७६ कम्पनीका ७ अर्ब रुपैयाँबराबरको कारोबार गरेको जनाएको छ । 

ब्रोकर कम्पनीहरुको भीडमा धितोपत्र कारोबारका आधारमा टप ७ भित्र रहेको उल्लेख गर्दै कार्यकारी अध्यक्ष जोशीले ग्राहक सन्तुष्टि र प्रकाशित सूचना तथा जानकारी समयमै दिइने पक्ष नै सबैभन्दा बलियो पक्ष भएको दाबी गरे ।

समाज र साथीभाइको निकटता तथा माहौलका कारण ब्रोकर पेशा अँगालिएको बताउने जोशीले २०६४ सालमा नेप्से बुल हुँदा ब्रोकरलाई भेट्नै गाह्रो भएको अनुभवसमेत सुनाउन भ्याए । चार्मिङ र गजबकै पेशाजस्तो लागेर नै नेप्सेमा ब्रोकर पेशाका लागि आवेदन दिएको उनले विगत कोट्याए ।

बजारमा मध्यधार समाउँदै आफ्ना ग्राहकसँग जोडिएर जनसम्पर्कलाई बढावा दिइरहेको बताउँदै अध्यक्ष जोशीले समयमै सेयर खरिदबिक्री र भुक्तानीको व्यवस्था गर्ने गरेको दाबी गरे ।

ब्रोकरेज सेवामा पोर्टफोलियो व्यवस्थापन, परामर्शदाता, स्टक डिलरसिपलगायतका क्षेत्रमा समेत ब्रोकर कम्पनीहरुले सेवा प्रवाह गर्न पाउनुपर्ने जोशीको माग छ । शीघ्र सेवा र समयमै लगानीकर्ताका लागि धितोपत्र खरिदबिक्री गर्ने सुविधा रहेकाले डाइनामिकमा सेवा लिन जोशीले आग्रह गरे ।

नियामकहरुका कतिपय नीति–निर्देशन पुरानो भएको र सूचनाप्रविधिको जमानामा स्मार्ट नीति–निर्देशन हुुनुपर्ने जिकिर गर्दै जोशीले बिजशालासँग भने, ‘समय सुहाउँदो स्मार्ट निर्देशन हुन जरुरी छ ।’ 

नेपाल हाल रेमिट्यान्स मुलुक भइरहेको सन्दर्भमा रेमिट्यान्सबाट भित्रिने पैसालाई पूँजीबजारमा ल्याउन सकेको खण्डमा पूँजी चलायमान बनाउँदै देशको समृद्धिमा थप टेवा पुग्ने जोशीको धारणा छ ।

अहिलेसम्म नियामकीय कारबाहीमा नपरेको कम्पनीका अध्यक्ष जोशीले दाबी गरे । 

पूँजी बजारको दायरा र क्षेत्र विस्तारका निम्ति डेरिभेटिभ मार्केटलाई जन्माउन सके बजारको मात्रा बढ्ने उल्लेख गर्दै जोशीले पोलिसी लेभलबाट नै पूँजीबजारसम्बन्धी राम्रा–राम्रा नीति बनिनुपर्ने र नयाँ कम्पनीहरुलाई सूचीकृत गर्दै लैजानुपर्ने धारणा राखे । ‘पूँजी बजारको विकास तथा विस्तारका लागि नियामकले बृहत अध्ययन तथा अनुसन्धान गर्न अति नै जरुरी छ’, जोशीले थपे ।

पूँजी बजारमा साक्षरताभन्दा पनि संलग्नताको अभाव रहेको तर्क अघि सार्दै जोशीको ब्रोकरलाई पोर्टफोलियो व्यवस्थापन सेवा र परामर्श सेवा दिइए बजारको आकार बढ्ने दाबीसमेत छ ।

लगानीकर्ताका आँखामा डाइनामिक मनी मेनेजर्स प्रालि

राधा खरेल (वर्ष ५०), पूर्वशिक्षक, गौशाला

पूँजी बजारमा विगत ६ वर्षदेखि सक्रिय मैले ४४ नम्बरबाट सेवा लिएको ४ वर्ष भयो । एकदमै सहज र राम्रो सुविधा पाएको अनुभव छ । सेयर खरिदबिक्रीको भुक्तानी तुरुन्तै खातामा हुने व्यवस्था रहेकोमा म धेरै सन्तुष्ट छु । ब्रोकर र स्टाफ सबैजना सहयोगी हुनुहुन्छ भने यहाँ आउने ठूला लगानीकर्ताबाट उचित सल्लाह पनि पाइरहेकी छु । हाम्रो ब्रोकरबाटै निकट समयमा माजिन लेन्डिङ सुविधा लिन मन छ । म यो ब्रोकरलाई १० नम्बरमध्ये ८ नम्बर दिन्छु ।
 

बीबी तामाङ (४७), व्यापारी, ललितपुर

२०–२२ वर्षदेखि सेयर बजारमा सक्रिय म यहाँबाट सेयर खरिदबिक्रीको सेवा चाहिँ १० वर्ष जति भयो । यहाँ मलाई एकदमै सहज र सन्तुष्ट छ । मार्जिन ऋणको सुविधा भए सहज हुन्थ्यो । म यसलाई १० नम्बरमा ९ नम्बर दिन चाहन्छु।

मोहन भण्डारी (४१), इन्स्योरेन्स अभिकर्ता, गौरीघाट

१२ वर्षदेखि सेयर बजारमा रहेको म यहाँबाट सेवा लिएको ८ वर्षजति भयो । यहाँ सबै राम्रो र ठीक छ ।