काठमाण्डौ । लगानीयोग्य रकमको अभाव भइरहेको र विभिन्न बैंकहरुले एकैपटक ठूलो आकारका ऋणपत्र निश्कासन गरिरहेको बेला माछापुच्छ्रे बैंकले अरुलाई उछिन्दै सबै ऋणपत्र समयमै बिक्री गर्ने सफलता पाएको छ । 

माछापुच्छ्रे आसपासकै समयमा ऋणपत्र निश्कासन गरेका अन्य बैंकहरुको ऋणपत्र सबै बिक्री भएन । तर, माछापुच्छ्रेको ऋणपत्रमा भने मागभन्दा केही करोड बढीको आवेदन परेको छ । 

अन्य बैंकहरुको ऋणपत्र नबिकेर चौपट भइरहेको बेला माछापुच्छ्रेको यो प्रदर्शनलाई सकारात्मक रुपमा हेरिएको छ । 

पछिल्लो समय बैंकले आफूमा गरिरहेको तीव्र सुधार र लोभलाग्दो प्रगतिका कारण लगानीकर्तामा विश्वास बढ्दै गएको प्रतिकको रुपमा ऋणपत्रको प्रदर्शनलाई लिन सकिने विश्लेषकहरु बताउँछन् । ‘पछिल्लो समय यो बैंकले लोभलाग्दो प्रगति र आफूमा तीव्र सुधार गरिरहेको छ । यहीकारण समेत लगानीकर्ताले यो बैंकको ऋणपत्रमा बढी विश्वास गरेको देखियो ।’ ती विश्लेषकले भने–‘आफूलाई ठूलो भन्ने बैंकहरुलाई समेत माछापुच्छ्रेले ऋणपत्र बिक्रीमा उछिन्यो ।’ 

माछापुच्छ्रे बैंक लिमीटेडले एक महिनाअघिबाट रु. ३ अर्बको ऋणपत्र निश्कासन गरेको थियो । ऋणपत्रमा ३ अर्ब ५ करोड बढीको आवेदन परेको हो ।

कुल निश्कासित ऋणपत्रमध्ये अठार लाख युनिट प्राइभेट प्लेसमेन्टका लागि र १२ लाख युनिट सर्वसाधारणका लागि सुरक्षित गरिएको थियो ।

सर्वसाधारणका लागि जारी हुने १२ लाख युनिटमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता डिबेन्चर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। 

बैंकले ऋणपत्रमा लगानी गर्नेका लागि वार्षिक १०.२५ प्रतिशत ब्याज अफर गरेको थियो । 

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । ऋणपत्रमा ढिलोमा भदो ३ गतेसम्म आवेदन दिने समय थियो ।

बैंकले ७ वर्ष अवधिको ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेड रहेको थियो । 

ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा बिक्री गर्न सकिनेछ । 

यस्तै, बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा ऋण समेत लिन सकिन्छ ।