खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस(आईसीआईजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा म र मेरा परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी उल्लेख गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
 
यस्तै सूचनालाई आधार बनाई ३/४ वर्ष पहिला पनि यो विषय बाहिर आएको थियो, त्यसबेला समेत हामीले यो विषयमा प्रष्ट पारेको सर्वविदितै छ । सीआइजेको रिपोर्टमा उल्लेख भएको कम्पनी १५ वर्ष पहिला खुलेको र ६/७ वर्ष पहिला स्ट्राइक अफ भइसकेको छ । 
 
यस विज्ञप्तिमार्फत म र मेरो परिवारको सो कम्पनीमा कुनै पनि आबद्धता र सरोकार नभएको जानकारी गराउँदछु । जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रा समेत गरेका छैनन्, जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दा समेत प्रष्ट हुन्छ । 
 
सो कम्पनीको सेयरहोल्डर भनी मेरा छोराहरुको नाम जोडिएकोमा सो कम्पनी स्थापना हुँदा उनीहरुको उमेर १० र ५ वर्ष मात्र थियो । 
 
हाम्रा बच्चा धेरै सानो हुँदा बेलायतका साथीहरुले छोराहरुलाई बेलायतमा पढाउने हो भने कम्पनी खोल भनेका थिए हामीले खोलेनौं । ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता गर्न सकिने सो बेलाको सहज व्यवस्थाको फाइदा उठाई कोही कसैले हाम्रो नाम दुरुपयोग गरेको भए, त्यो छानविनको विषय बन्नसक्ला । 
 
त्यसैगरी, ट्याक्स हेवन गर्नजीमा दर्ता रहेका दुई विदेशी कम्पनीमा समेत हामीलाई जोडिएको छ। ती दुई कम्पनी कम्पनीमा हाम्रो साझेदारी छैन । मेरो कुनै पनि स्वीस बैंकमा खाता छैन, कुनै पनि ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता छैन र सिजी होल्डिंग्स समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी आएको छैन । यो विषयले आम जनमानसमा द्विविधा सिर्जना नगरोस् भन्ने उद्देश्यले यो विज्ञप्ति जारी गरेको हुँ । 
 
अहिलेसम्म मेरो नेतृत्वमा संचालित कुनै पनि कम्पनीको नाममा वैदेशिक लगानी(एफडीआई) आएको छैन । अझ मेरो नाममा स्वदेशमा अस्तित्वमा रहेका कम्पनीहरुमा म र मेरो श्रीमती बाहेक अरु कसैको लगानी समेत छैन । मेरा कुनै पनि कम्पनीमा एफडीआई आएको प्रमाणित भए त्यसलाई सरकारीकरण गरियोस् । 
 
म अटो मोविल्स, शिक्षा, हस्पिटालिटि, रियलस्टेट, उद्योगको क्षेत्रमा नेपालमा आफ्नै लगानीले उद्यम र व्यवसाय गरिरहेको उद्योगी/व्यक्ति हुँ । मैले मेरा कम्पनीमार्फत मुलुकमा हजारौंलाई रोजगारी प्रदान गर्दै आएको छु भने करोडौं रुपैयाँ राजश्वमा योगदान समेत गर्दै आएको कुरा सर्वविदितै छ   
 
विदेशमा लगानी सम्बन्धीे ऐनको व्यवस्थालाई म र मेरो परिवारले पूर्ण रुपमा पालना गर्दै आएको र ऐनको आदेश वा निर्देशनको अक्षरंशः पालना गर्ने यसै विज्ञप्तिमार्फत पुनः एकपटक प्रतिबद्धता समेत व्यक्त गर्दछु ।
 
अरुण कुमार चौधरी
२०७५ माघ ५ गते शनिवार
(खोज पत्रकारिता केन्द्रले नेपालिक्समार्फत ट्याक्स हेभन देशमा केही नेपालीको खाता र लगानी रहेको दाबी गर्दै केही दिनअघि रिपोर्ट सार्वजनिक गरेको थियो । तर, त्यसमा आफ्नो र परिवारको नाम अनाहकमा मुछिएको दाबी गर्दै अरुणकुमार चौधरीले शनिवार सार्वजनिक गरेको विज्ञप्तिको पूर्ण पाठ)