काठमाण्डौ । अरुण काबेली पावर लिमीटेडले सर्वसाधारणका लागि खुलाएको ३० करोड मूल्य बराबरको आइपीओमा ४१.६६ गुणा बढी आवेदन परेको छ । 

एकसय रुपैयाँ अंकित मूल्यको कुल ३० लाख कित्ता सेयरको प्राथमिक निश्कासन गरिएकोमा माग भन्दा ४१.६६ गुणा बढीले आवेदन दिएका हुन् । 

अरुण काबेली पावर लिमीटेडका फाइनान्स चिफ हरिप्रसाद सुवेदीका अनुसार ३० करोड रुपैयाँ बराबरको आइपीओ खुलाइएकोमा १२ अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको आवेदन परेको हो । 

सिद्धार्थ क्यापिटलका सविन ढकालका अनुसार देशभरका संकलन केन्द्रबाट १ लाख ४५ हजार बढीको आवेदन परेको छ । १ लाख बढीको आवेदन परेकोले आवेदन बन्द भएको मितिले ५० दिनभित्रमा आइपीओको बाँडफाँड सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको उनले जानकारी दिए । 

अरुण काबेली पावर लिमीटेडले २५ मेगावाटको आयोजनाका लागि खुलाएको आइपीओका लागि अघिल्लो मंगलबारदेखि कात्तिक १२ गते(शुक्रबार)सम्म सर्वसाधारणले आवेदन दिने व्यवस्था मिलाइएको थियो । आइपीओको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरिरहेको छ ।

इच्छुक लगानीकर्ताले १ सय रुपैयाँ अंकित मूल्यमा न्यूनतम ५० कित्तादेखि अधिकतम १५ हजार कित्तासम्मका लागि आवेदन दिएका हुन् ।

इक्रा नेपालले अरुण काबेलीको आइपीओलाई ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ । 

सिद्धार्थ क्यापिटलका अनुसार कुल निश्कासनहुनेमध्ये ३ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमा भएर बग्ने कावेली नदीमा २५ मेगावाटको कावेली बी–१ परियोजना निर्माण गरिरहेको छ । प्रतिमेगावाट १६ करोड रुपैयाँका दरले चार अर्ब रुपैयाँमा निर्माण पूरा गर्ने कम्पनीले जनाएको छ ।

यसअघि कम्पनीले पाँचथर र ताप्लेजुङका आयोजना प्रभावित स्थानीय बासिन्दालाई १५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।

आर्थिक बर्ष २०७३/७४ मा यो परियोजना सक्ने लक्ष्यका साथ नेपाल बिद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरिएको छ । 

आइपिओ बाँडफाँड पश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा त्यसपछि संस्थापक समूहको ७०, आयोजना प्रभावित बासिन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ । 

कम्पनीका एक अधिकारीका अनुसार आयोजना निर्माणकै क्रममा रहेको हुँदा प्रतिफलका लागि भने लगानीकर्ताले केही समय कुर्नु पर्ने हुन्छ ।