राधा सापकोटा ढकाल २०४२ सालमा गोरखामा जन्मिएकी हुन् । इगल आइज फेसन हाउस, न्यूरोडका प्रोप्राइटर सापकोटा १३ वर्षदेखि फेसन डिजाइन क्षेत्रमा समर्पित छिन् । नेपाल आइडल सिजन–३ को डिजाइन पार्टनर भएर काम गर्नुका साथै मिस नेपाल, विवाह, इभेण्टहरु डिजाइन गरिसकेको इगल आइज फेसन हाउसको सेरोफेरोमा रहेर उनीसँग उनको फेसन जीवनको प्रवेश, सङ्घर्ष र सफलताका विषयमा यो पटक कुराकानी गरेका छौं ।

राधाको बुझाइमा फेसन 
फेसन भनेको लुगामात्र होइन । स्टाइलिस हुनु आफ्नो ठाउँमा छ । फेसन डिजाइन भनेको जीवनशैली हो, कलात्मक तरिकाले बाँच्ने हो । अरुको जीवन नै डिजाइन गर्ने काम हो फेसन डिजाइनिङ ।

बुटिक भनेको आर्ट हो । ड्रिमलाई डिजाइन गर्ने हो । प्याटर्न बनाउन र सिलाउन दुवै कठिन छ । 

कहिले एउटा ब्लाउज सिलाउन ४ दिन लाग्ने पनि हुन्छ ।

फेसन जीवनमा प्रवेश
राधाको फेसन जीवन बाल्यकालदेखिको सोंच हो ।

फेसन डिजाइनर पनि हुन्छ । त्यो पढाइ पनि हुन्छ भन्ने आज पनि धेरैलाई थाहा छैन । 

काठमाण्डौमा आउँदा पनि थाहा भएन उनलाई । त्यतिबेला नर्स बन्नुपर्छ भन्ने थियो । उनी अनमी पढ्न बनेपा गइन् । 

सङ्घर्ष गर्दैगर्दा
काठमाडौं आएपछि सानैदेखिको रहरलाई पूरा गर्न पढ्ने सोंच बनाइन् राधाले । भूतपूर्व आर्मीको छोरी भएका कारण उनले सिलाइ तालिम लिन पाइन् ।

त्यसपछि उनी अनमी सपना छाडेर कपडाको काममा लागिन् । डिजाइन गरेर होटल र एअरलाइन्समा सप्लाइ गर्ने काम थालिन् । उनी भन्छिन्, ‘२ सयको सामानमा पनि कला देखाउनुपर्छ ।’ 

प्रारम्भिक दिन सम्झिँदै भन्छिन्, ‘श्रीमानले १ लाख कमाउँदा पनि म आफ्नै ४ रुपैयाँ कमाइमा रमाउँथेँ । अनि श्रीमानले थप लगानी गरेर काम गर न त भन्नुभयो ।’ त्यसो गर्दैगर्दा ३–४ लाखको लगानीमा आफैंले काम सुरु गरिन् ।

‘श्रीमानले १ लाख कमाउँदा पनि म आफ्नै ४ रुपैयाँ कमाइमा रमाउँथेँ । अनि श्रीमानले थप लगानी गरेर काम गर न त भन्नुभयो ।’

राधा सङ्घर्षको कथा सम्झिन्छिन्, ‘बिहान उठेर ४ बजेबाट कम गर्थेँ । काम गर्दै कलेज पनि पढ्थेँ म । कमाउनु थियो । संघर्ष गर्नु थियो ।’

आज ९–१० वर्ष भइसक्यो, इगल आइज सुरु गरेको । एकल लगानीमा व्यवसाय गर्छिन् ।

आरम्भमा चुनौती
पितृसत्तात्मक चिन्तनले अझै पनि समस्या छ ।

राधा भन्छिन्, ‘हामीले काम गर्न पनि नपाउने अवस्था छ । मैले पनि सुनेँ धेरैथरि कुराहरु ।’

‘कपडा सिलाउने काम गर्ने होइन तिमीले ।’

‘सियोमा धागो राखेर कहिले कमाउने?’

‘पढ्न जान्या छ कि छैन लुगा सिलाउन आउने रछ ।’

‘नक्कल पार्न आउँछ है।’

यस्ता खिसीट्युरी राधाले धेरै नै सुन्नुप¥यो ।

तर, उनको बुबाले पहिलोपल्ट लुगा सिलाउने मेसिन किनिदिए ।

‘ती कुराले झनै मोटिभेट गरेको थियो । आजसम्म पनि गर्छ । जहाँ सुन्यो त्यहीँ सकियो ती कुराचाहिँ ।’, राधा मुस्कुराउँदै भन्छिन् । 

सेलिब्रेटी हुँ भन्नेहरुबाट पैसा नपाउने, मास्टर कालिगढ पाउन मुश्किल हुने र तलबस्केल एकदम धेरै माग्ने जस्ता चुनौती पनि छन् ।

‘पढ्न जान्या छ कि छैन लुगा सिलाउन आउने रछ ।’

‘नक्कल पार्न आउँछ है।’

महिला हुनुको कारण अप्ठेरो छ
राधाले धेरै अप्ठेरा बुझेकी र झेलेकी छिन् ।

‘महिला भएका कारण व्यवसाय गर्न कठिन छ । मासिक धर्मका कारण हरेक महिलालाई काम गर्न कठिन छ ।’, उनी भन्छिन्,‘फेसन शो, मिस नेपाल इभेण्ट भएको दिनमा मलाई पिरियड भयो । त्यस्तो बेलामा गाह्रो हुन्छ ।’

हरेक मानिसँग संगत गर्नुपर्छ । फोटोग्राफर, मोडल, नायक–नायिका जोसँग जतिबेला पनि फुत्त निस्किनुपर्छ काममा । त्यसो हुँदा उनलाई अप्ठेरा वचनहरुले प्रहार नगरेका हैनन् ।

‘फेसनको क्षेत्रमा भएका कारण त्यसैगरी मेण्टेन गर्नुपर्छ आफूलाई । कर्मचारीबाट पनि अलिक पेल्न खोज्ने मान्यता देखेको छु । मैले त्यत्ति अप्ठेरो भोगेको त छैन ।’, राधाका अनुभव यस्तो छ । ‘विवाहित भएको थाहा भएर बच्चा साथमा हुँदा पनि पाइला–पाइलामा ह्यारेसमेण्ट भोग्नुपर्छ । आफू बलियो भएर व्यक्त हुनुपर्छ ।’

सङ्कट पर्दाको क्षण
राधा सुनाउँछिन्, ‘कुनै समय शून्य अवस्थामा पनि पुगेकी थिएँ । मसँग केही छैन भन्ने स्थिति पनि आएको थियो । परिवारमा छ तर मसँग केही छैन ।

मसँग थियो, सीप । सीपले उठाउने रहेछ । अनि, आँट भरोसाका लागि संगत ठूलो कुरा हुन्छ । मैले श्रीमान र दिदीबहिनीहरुबाट भरोसा पाएँ । मेरो सानो साथी सर्कल छ उनीहरुबाट पनि साथ पाएँ । अनि, गाह्रो भएन ।’

‘नैतिक बल पनि ठूलो सहायता हुने रहेछ ।’ राधाको बुझाइ यस्तो छ ।

‘पैसा गन्ने फुर्सद पनि नभएको दिन आयो । कामको चाप र कमाइको पनि एकदम राम्रो अवस्था । यस्तो पनि हुने रहेछ ।’ उज्यालो मुहार पार्दै राधा भन्छिन् ।

पहिलो कमाइको कथा
फेसनमा लागेर गरेको पहिलो कमाइको कथा मर्मस्पर्शी छ । हजुरआमाले बाबाको बच्चा भएन भनेर गरगहना सबै दान गर्नुभएको रहेछ । अनि उहाँ राम वैष्णव हुनुभएछ । हामी जन्मियोस् भनेर यो गर्नुभएको रे । मलाई जहिले पनि उहाँलाई केही दिन्छु भन्ने लागिरहन्थ्यो ।

मैले कमाएको मेरो पहिलो कमाइबाट मैले हजुरआमाका लागि सुनको टिका, औंठी, ढाकाको कपडा सेट किनेर लगेँ । हजुरआमाले स्वीकार गर्नुभयो । सम्झिँदा पनि म आज भावुक हुन्छु ।

‘पैसा गन्ने फुर्सद पनि नभएको दिन आयो । कामको चाप र कमाइको पनि एकदम राम्रो अवस्था । यस्तो पनि हुने रहेछ ।’

चर्चा र अर्डर
कस्टूमरहरु नै उनका चर्चाका स्रोत हुन् । १ जनाले ४ जना नयाँ क्लाइण्ट  ल्याउँछन् । यो उनको व्यवहार र कामको गुणस्तरले गर्दा भएको हो ।

‘अहिले व्यवसाय ठूलो भइसक्यो ।’ उनी मुस्कुराउँदै भन्छिन्, ‘१०–१२ जनालाई प्रत्यक्ष र अप्रत्यक्ष कामका आधारमा रोजगारी सिर्जना गरेको छु ।’
उनी थप्छिन्, ‘एक्लै तर परिवारको साथले काम सुरु गरेको हुँ । सुरु विन्दुदेखि नै बैनी रेशु ढकालको सपोर्ट एकदम अतुलनीय छ ।’

यहाँ महिला पुरुष दुवैका लागि सामान अर्डर हुन्छ । राधा भन्छिन्, ‘ढाकाको पनि काम गर्छौं तेह्रथुममा बुनेको र पाल्पाली ढाका । नेपाली सामान विदेश पठाउन पाए हुने । तर अहिले धेरै विदेशी सामानबाट बनेका उत्पादन नै विदेश पठाउने गरेका छौं ।’

अबको सपना
राधाको अहिलेको सपना छ, हरेक नेपाली महिलाले व्यक्तिगत कमाइ आफैंले गर्नसक्ने बनाउनु । हरेक नेपाली महिलाले अरुसँग निर्भर भएर खानु नपरोस् भन्ने उनको सोंच छ ।

एकताका हातमा र कानमा लगाउने पोतेको बाला बनाउने काम सुरु भएको थियो । घरघरमै लगेर बनाउन दिने काममा १०० जना महिलाहरु आबद्ध थिए ।

बन्द भएको त्यस व्यवसाय बारे भन्छिन्, ‘उत्पादन विदेशमा पठाउँथेँ मैले । भूकम्पपश्चात त्यो व्यवसाय रोकियो । त्यसले राम्रो कमाइ भएको थियो ।’
उनलाई त्यस्तै काम गर्न मन छ फेरि पनि ।

दिदीबहिनीहरुलाई आर्थिक कारण तनावमा बस्नु नपरोस् भन्ने उनलाई लाग्छ । सबैजना आत्मनिर्भर बनेको देख्ने चाहना छ उनको ।

उत्पादन विदेशमा पठाउँथेँ मैले । भूकम्पपश्चात त्यो व्यवसाय रोकियो । 

लकडाउनपछिको भिन्न योजना
उनको योजना लगानी बढाउने र क्वालिटी पनि बढाउने तर, पैसामा कम्प्रोमाइज नगर्ने भन्ने थियो । तर, अब मानिसहरुको लगानी क्षमता घट्यो । अब यस्तो दिन आयो कि कम खर्चमा काम गरौं भनेर आफैंले भन्ने दिन आए । धेरै भाडा तिर्नेभन्दा घर–घरमा काम गराउनुपर्ने अवस्था आयो ।

अब अनलाइन सिस्टममा काम गर्नुपर्ने देखिन्छ । यो वर्ष त्यस्तै भयो । कामदारलाई बोलाउन सकिने अवस्था छैन । अहिले सहयोग गरिरहेको भए पनि तलब दिन भने सक्ने अवस्था छैन । व्यावसायिक अन्यौलको अवस्था छ ।

राधाको मनको कुरा
मान्छेको जीवनमा केही नगरौं कि भन्ने निराशा पनि आउनसक्छ । निरन्तर आउने चुनौती र अप्ठेरालाई हामीले जित्न सक्नुपर्छ ।

घाटा वा नाफा जे भए पनि सानो–सानो कुरामा आँत्तिनुहुन्न । सर्च गर्दा पनि नभेटिने गरी भाग्नुहुन्न व्यवसायबाट ।

पानी परिराछ भनेर निस्किन नसक्ने, घरमा झगडा भयो भनेर काममा जान नसक्ने अवस्था कुनै पनि व्यवसायीमा आउनुहुन्न ।

राधाको सम्झनामा यस्तो पनि रहेछ, डेंगु पोजेटिव हुँदा पनि उनको मनले भने काम सकिसकेको हुन्थ्यो । यत्तिको लगाव जरुरी हुने रहेछ।

इगल आइजका अन्य सेवा
इगलआइज फेसन हाउसबाट फोटोग्राफी, मेकअप, ब्युटी पार्लरका लागि आवश्यक सबै सेवा उपलब्ध छन् ।

योगा मेडिटेसनको इभेण्ट नै डिजाइन गर्ने काम पनि हुन्छ ।

बुटिक खोल्ने हो भने....
बुटिक खोल्न पढेर मात्र हुन्न । यसका लागि फेब्रिक, कटिङलगायतको ज्ञान एवम् सीप हुनुपर्छ । 

राधाको सुझाव छ, ‘पढाइ सक्नु भएपछि सुरुमा कतै इन्टर्न गर्नूस् र सिक्नूस् ।’

अन्तमा,
राधा भन्नुहन्छ, ‘म बाँचुञ्जेल अध्यात्म, योगा, ध्यान र फेसनको कर्म गरिरहन्छु ।’