काठमाण्डौ । एमाले नेता झलनाथ खनालले नेपालको संविधानलाई लिएर भारत र युरोपेली युनियनले जारी गरेको संयुक्त विज्ञप्तिको कडा आलोचना गरेका छन् । 

राजधानीमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै नेता खनालले भारत र युरोपेली युनियनले नेपाललाई पाठ सिकाउन जरुरी नभएको बताए ।  भारत तथा युरोपेली युनियनका देशहरुको भन्दा नेपालको संविधान उत्कृष्ट भएको दाबी गर्दै नेता खनालले त्यस्ता देशले नेपालको संविधानको विषयमा टिप्पणी गर्नु र सुझाव दिनुको कुनै अर्थ नरहने तर्क गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले नेपालको संविधान जारी हुँदा स्वागत गर्ने युरोपेली युनियनले अहिले आएर सुझाव दिन खोज्नुको कुनै तुक नरहेको बताए । संविधान लागू गर्न नेपाल स्वतन्त्र र सार्वभौम रहेको बताउँदै उनले नेपालको हरेक समस्या समाधानका लागि नेपाल नै सक्षम रहेको दाबी गरे । 

नेपालले कुनै पनि देशमाथि हस्तक्षेप नगर्ने र नेपालमाथिको हस्तक्षेप पनि नस्वीकार्ने उनको स्पष्टोक्ति थियो । संविधान जारी भइसकेपछि नेपाल अब आर्थिक उन्नतिको बाटोमा हिँड्न सुरु गरिसकेको उनको भनाई थियो । विश्व परिवेश र छिमेकी मुलुकलार्ई अध्ययन गरेर विकासको रणनीति तयार गर्नुपर्नेमा उनले जोड दिए ।