काठमाण्डौ । अमेरिकी कम्पनीको सफ्टवेयर चोरेको आरोप पुष्टि गर्दै एक अमेरिकी अदालतले अटोमोवाइलको क्षेत्रमा विश्वमै चर्चित टाटा कम्पनीलाई करिब १० हजार करोड नेपाली रुपैयाँ जरीवाना गर्ने फैसला सुनाएको छ । यो फैसलालाई संचारमाध्यहरुले टाटालाई अमेरिकामा ठूलै झट्का लागेको भनेर टिप्पणी गरेका छन् । 

अमेरिकाको ग्राण्ड ज्यूरीले टाटा कन्सल्टेन्सी सर्भिसेज(टिसिएस) र टाटा अमेरिका इन्टरनेशनल कार्पले अमेरिकी कम्पनीको सफ्टवेयर चोरेको पुष्टि भएको भन्दै ९४ करोड अमेरिकन डलर अर्थात करिब १० हजार करोड नेपाली रुपैयाँ जरीवाना हुने फैसला सुनाएको हो । कम्पनीका दुवै समूहमाथि अरुको व्यापार गोपनीयता चोरेर गैरकानूनी काम गरेको आरोप लागेको थियो । अदालतले यो आरोप प्रमाणित भएको दाबी गर्दै निकै ठूलो रकम जरीवाना हुने फैसला सुनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

फैसलामा भनिएको छ–‘टिसिएस र टाटा अमेरिकामाथि लागेको इपिक सिस्टम्सको सफ्टवेयर चोरी गरेको आरोप प्रमाणित भएको छ ।’ चोरी गरेबापत टाटा ग्रुपले इपिकलाई २४ करोड तिर्नुपर्ने समेत फैसला सुनाइएको छ । त्यसअलावा क्षतिपूर्तिको रुपमा थप ७० करोड डलर समेत इपिकलाई टाटाले तिर्नुपर्ने फैसलामा उल्लेख छ । 

इपिक सिस्टम्सले मेडिसनको एक जिल्ला अदालतमा २०१४ अक्टोबरमा टिसिएस र टाटा अमेरिकालाई विपक्षी बनाई मुद्धा दायर गरेको थियो । इपिकले दुवै कम्पनीले आफ्नो ‘ट्रेड सिक्रेट’, डकूमेन्ट र डाटा चोरी गरेको आरोप लगाएको थियो । इपिकले दर्ता गराएको मुद्धामा इपिकको एक ग्राहकबाट कन्सल्टेन्सीको दौरान टाटा समूहले गोप्य डाटा र टे«ड सिक्रेट चोरी गरेको दाबी थियो । 

इपिकले आफूहरुबाट चोरीको गरेको सफ्टवेयरको प्रयोग गरेर टाटाले आफ्नो उत्पादन राम्रो बनाएको दाबी समेत गरेको थियो । इपिकका एक अधिकारीका अनुसार टिसिएसका एक कामदारको अकाउण्टबाट ६ हजार ४ सय ७७ डकूमेन्ट डाउनलोड गरिएको थियो । यो अकाउण्टलाई भारत र अमेरिकाका कयौं स्थानमा प्रयोग गरिएको देखिएको थियो । 

इपिकले टाटा समूहले आफूहरुसँग स्वस्थ प्रतिस्पर्धा गर्न नसकेर धोखाधडीको बाटो रोजेको आरोप समेत लगाएको छ । आफूहरुले वर्षौको मेहेनतबाट बनाएको टेक्निकलाई चोरी गरेर टाटाले लिएका कारण यो ठूलै अपराध हुने फिरादपत्रमा दाबी गरिएको थियो ।