काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिको देशको आर्थिक परिदृश्यको समीक्षा गरेको छ । 

छ महिनासम्मको समीक्षा सार्वजनिक गर्दै देशको अर्थतन्त्रमा सन्तोषजनक प्रगति हुन नसकेको उल्लेख गर्दै पछिल्लो समीक्षा सार्वजनिक गरेको हो ।   
 
राष्ट्रबैंककै भाषामा उसले बुँदागत रुपमा अर्थतन्त्रको यसप्रकारले समीक्षा गरेको छः

  • आर्थिक वर्ष २०७४/७५ को पहिलो छ महिनासम्ममा उपलब्ध आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्रको मिश्रित प्रगति देखाएका छन् । गैर कृषि क्षेत्रको आर्थिक गतिविधिहरुमा अपेक्षाकृत विस्तार भइरहेको छ भने कृषि क्षेत्रको उत्पादन अपेक्षा गरे भन्दा केही कम रहने देखिन्छ । उर्जा उत्पादनमा भइरहेको क्रमिक वृद्धि, आपूर्ति अवस्थामा सुधार र निर्माण क्षेत्रमा आएको तिब्रताले गैर कृषि क्षेत्र विस्तारको गति कायम राख्न सहयोग पु्याइरहेका छन्। बाढीले भू–क्षेत्र कटान गरेका कारण धानको उत्पादनमा केही ह्रास आएको भएतापनि पर्याप्त वर्षाका कारण मकैको उत्पादनमा भने उल्लेख्य वृद्धि भएको छ । तसर्थ, आर्थिक वर्ष २०७४/७५ मा समग्र आर्थिक वृद्धिदर सन्तोषप्रद रहने देखिन्छ । 
  • हालसम्म उपभोक्ता मुद्रास्फीति न्यून नै रहेता पनि कृषिजन्य वस्तुहरुको मूल्यमा हुने उतार चढाव र निर्माण सामाग्री तथा पेट्रोलियम पदार्थको मूल्य प्रवृत्तिले मुद्रास्फीतिको आगामी परिदृष्य निर्धारण गर्ने देखिन्छ । आपूर्ति अवस्था सुदृढ रहेको र सम्भावित मुद्रास्फीतितर्फ विश्वव्यापी रुपमै ध्यान केन्द्रित भएकोले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति लक्षित ७ प्रतिशतको सीमा भित्रै रहने अपेक्षा छ । 
  • बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जाको विस्तार निक्षेप वृद्धिको तुलनामा उच्च रहदैँ आएको छ । विप्रेषण आप्रवाहमा आएको कमीको कारण निक्षेप वृद्धि सामान्य रहने देखिएको छ । निक्षेप परिचालनको अवस्थालाई दृष्टिगत गरी कर्जा प्रवाह गरिएमा हाल देखिएको वित्तीय असन्तुलन आगामी दिनमा सुधार आउने छ । 
  • वाह्य क्षेत्रतर्फ, चालू आर्थिक वर्षको पहिलो छ महिनामा आयातमा उच्च वृद्धि भएको एवम्विप्रेषण आप्रवाहमा केही कमी आएकोले चालू खाता घाटामा वृद्धि भई रु. ७५ अर्ब ७१ करोड पुगेकोछ । फलस्वरुप, मुलुकको समग्र शोधनान्तर रु. ६ अर्ब ६६ करोडले घाटामा गएको छ । तथापि, देशको वैदेशिक मुद्रा संचिति १०.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी सुविधाजनक अवस्थामा रहेकाले वाह्य क्षेत्र स्थायित्व सबल अवस्थामै रहेको छ ।