वासिङ्टन(रासस/एएफपी) । अर्थतन्त्रलाई प्रोत्साहन गर्न अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्ब)को भूमिका यूरोपेली अर्थतन्त्रका लागि यूरोपेली केन्द्रीय बैंक (इसीबी)कोजस्तो सक्रिय नभएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडको आलोचना गरेका छन् ।

फेडले इसीबीले जस्तो अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति नलिँदा अमेरिकी अर्थतन्त्रमा समस्या देखिएको उृनको दाबी छ । 

बिहीबार यूरोपेली बैंकले अर्थतन्त्रलाई प्रोत्साहन गर्ने व्यापक कार्यक्रम सार्वजनिक गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् प्रेषित सन्देशमा भनेका छन्, “ यूरोको मूल्यलाई मजबुत डलरसँग प्रतिस्पर्धा गर्दै यूरोको मूल्यलाई घट्न नदिन उनी (यूरोपेली)हरूले प्रयास गरेका छन् र सफलता पाएका पनि छन् । उनीहरूले अमेरिकी निर्यातलाई प्रभावित पारिदिएका छन् र यसबाट अमेरिकालाई घाटा भैरहेको छ ।”

“तर फेड चुप लागेर बसेको बसै गरिरहेको छ,” ट्रम्पले फेडविरूद्ध पछिल्लो आलोचना गर्दै भनेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले फेड र यसका अध्यक्ष जेरोम पावेलविरूद्धको निरन्तर अभियानलाई जारी राख्दै आएका छन् । उनले पछिल्लो केही समयमा दैनिकजसो अमेरिकी राजनीतिबाट स्वतन्त्र मानिने केन्द्रीय बैंकको आलोचना गर्दै आएका छन् । बुधबार पनि अमेरिकी राष्ट्रपतिले फेडलाई ब्याजदर शुन्य प्रतिशतमा झार्न आग्रहसहित ट्वीट गरेका थिए । 

फेडको नीति समितिको आगामी हप्ता बैठक हुँदैछ र यसले ब्याजदरलाई थप कटौति गर्ने व्यापक अपेक्षा गरिएको छ । चीनसँगको व्यापार विवादका कारण अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै अर्थतन्त्र सुधारका लागि बैंकको तर्फबाट सम्भावित कदम चाल्ने पावेलले सङ्केत गरेका छन् ।

लगानीकर्ताहरूले फेडले आधार अङ्कको २५ प्रतिशत दर कटौति हुनेमा निकै आशावादी छन् तर उनीहरूले ब्याजलाई शुन्य प्रतिशतमा झार्ने निर्णय गम्भीर आर्थिक सङ्कटका समयमात्र हुने धारणा राखेका छन् ।

गत बर्ष चारपटकसम्म गरेको ब्याजदर कटौतिपछि अमेरिकी बैंकले ब्याजदरलाई २.२५ बाट २.० मा झारिएको थियो । यो कदम बैंकले १० बर्षपछि पहिलो पटक आंशिकरूपमा विमाबाट सम्बोधन गर्नेगरी व्यापार अनिश्चितताका कारण अर्थतन्त्रमा परेको असरलाई समाधान गर्ने प्रयासस्वरूप गरेको निर्णय थियो ।