काठमाण्डौ । एकपछि अर्को गर्दै सेयर लगानीकर्ता आन्दोलनमा उत्रिन थालेपछि यसबाट सरकारको छविमै आँच आउने निश्कर्षसहित अर्थमन्त्रालयले आज आकस्मिक बैठक बोलाएको छ । 

मन्त्रालयस्थित उच्च स्रोतका अनुसार सेयर बजारमा रहेका १० लाख बढी लगानीकर्ताको नजरमा सरकारको छवि धुमिल हुन थालेको निश्कर्षसहित लगानीकर्ताले उठाउँदै आएका केही जायज माग सम्बोधनका लागि आकस्मिक बैठक डाकिएको हो । 

अर्थमन्त्रालयले आज(बिहीबार) नेपाल राष्ट्रबैंक, धितोपत्र बोर्ड लगायतका बजारसँग सम्बद्ध निकायलाई आकस्मिक बैठक गर्नुपर्ने भन्दै बोलाएको छ । 

उच्च स्रोतका अनुसार दुवै नियामक निकायका अधिकारीहरुलाई बोलाएर छलफल गरेपछि आजै लगानीकर्ताका केही माग सम्बोधन हुनसक्ने प्रवल संभावना छ । 

‘कुनै न कुनै रुपमा आजै सेयर लगानीकर्तालाई सम्बोधन गर्ने योजना छ ।’ मन्त्रालयस्थित उच्च स्रोतले भन्यो–‘सेयर बजारमा देखिएको पछिल्लो समस्या र भद्रगोल अवस्थाप्रति अर्थका उच्च अधिकारी गम्भीर छन् । अर्थमन्त्रीले समेत पछिल्लो समय सेयर बजारको समस्या सम्बोधन गरिनुपर्ने भन्दै मातहतका अधिकारीहरुलाई वातावरण मिलाउन दवाब दिन थालेका छन् ।’ 

स्रोतका अनुसार लगानीकर्ताहरुको विभिन्न समूहले विभिन्न निकायमा गएर निरन्तर दवाब दिइरहेका छन् । उनीहरुले संसदको अर्थ समितिदेखि लिएर प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसम्म समेत आफ्ना समस्या राखिसकेका स्रोत बताउँछ । 

लगानीकर्ताको प्रदर्शनबाट सचेत बनेका अर्थका अधिकारी आइतबारदेखि रिले अनशन नै थाल्ने भनी भएको घोषणाबाट केही गम्भीर बनेका बताइएको छ । 

सेयर लगानीकर्ताको समस्याको बिषयमा प्रधानमन्त्रीले समेत चासो दिएका स्रोत दाबी गर्छ । ‘प्रधानमन्त्रीले सेयर लगानीकर्ताका जायज माग सम्बोधन गर्न तत्काल केही न केही कदम चाल्न भनी निर्देशन समेत दिनुभएको छ ।’ प्रम कार्यालयस्थित स्रोतले भन्यो–‘१० लाख बढी सेयर लगानीकर्तामा नराम्रो छवि बन्न थालेकोमा सरकार चिन्तित देखिएको छ ।’ 

तर, बिहीबार डाँकिएको आकस्मिक बैठकले लगानीकर्तालाई कुन हिसाबले सम्बोधन गर्छ भन्ने बिषय चाहि स्रोतले खुलाउन चाहेन ।