नयाँदिल्ली । व्यापारी अनिल अम्बानी एक दशक अघिसम्म ४२ करोड डलर नेट सम्पत्तिका साथ संसारका सबैभन्दा धनी व्यक्तिहरुमध्ये एक पर्थे। तर अब उनी अर्बपतिको सूचीबाट छिटै बाहिरिन सक्ने सम्भावना बढ्दै गएको छ । 

ब्रोकर स्ट्रिटमा मंगलबार कारोबार बन्द हुने समयसम्म अम्बानीको रिलायन्स ग्रुप कम्पनीको संयुक्त मार्केट क्यापिटलाइजेसन केबल ७७३ मिलियन डलरमा सीमित रहन पुग्यो । अम्बानीसँग आफ्नो गु्रपको सबै ६ कम्पनी रिलायन्स इन्फ्रास्ट्रक्चर, रिलायन्स नेबल एन्ड इन्जिनियरिङ, रिलायन्स पावर, रिलायन्स क्यापिटल, रिलायन्स होम फाइनान्स र रिलायन्स कम्युनिकेसन्समा ७५ प्रतिशत हिस्सा छ । उनको गु्रपमा लिस्टेड कम्पनीको मार्केट भ्यालु हेर्दा अम्बानी दाजुभाइमा सबैभन्दा कान्छा अनिल अम्बानीको सम्पत्ति बिलियन डलरभन्दा पनि कम हुन्छ । 

केही समय अघिसम्म यो ग्रुपसँग आम्दानी दिने खालको म्युचल फन्ड विजनेस रिलायन्स निपन लाइफ ऐसेट्स म्यानेजमेन्टमा एउटा ठूलो हिस्सा थियो । यो जापानी कम्पनी निपन लाइफसँग सञ्चालित एक ज्वाइन्ट भेन्चर हो । जसलाई हालै यसैको पार्टनरलाई बिक्री गरिसकिएको छ । हालै यसको मूल्य २ बिलियन डलरभन्दा बढी थियो । यो फन्ड हाउस अब जापानी इन्स्योरेन्सलाई ट्रान्सफर गर्ने प्रक्रियामा छ । 

रिलायन्स कम्युनिकेसन्स पनि ठप्प 
मुकेश अम्बानीका कान्छा भाइ अनिललाई आफ्नो सबै बिजनसमा कडा चुनौती सामना गर्नु परिरहेको छ । मुकेश अम्बानीलाई फोब्र्सले ५० बिलियन डलर सम्पत्तिका साथ संसारका सबैभन्दा धनीहरुको सूचीमा १३ औं नम्बरका राखेको छ । 

कुनै बेला अनिलको रिलायन्स कम्युनिकेसन्समा ६० प्रतिशतभन्दा बढी हिस्सा थियो । तर अहिले ९३,००० करोड हाराहारीमा ऋणका साथ यो टेलिकम भेन्चर इन्सल्वेन्सी एन्ड बैंकरप्सीको मुद्दा झेलिरहेको छ । 

अनिलको तीनवटा कम्पनी रिलायन्स क्यापिटल, रिलायन्स होम फाइनान्स र रिलायन्स इफ्रास्ट्रक्चरका अडिटरहरु पनि राजीनामा दिइसकेका छन् । उनीहरुमाथि म्यानेजमेन्टलाई सहयोग नगरेको र गलत काम गरेको आरोप लागेको थियो । 

पछिल्लो केही महिनादेखि अनिलको बिजनेस ग्रुपले डिफेन्स बिजनेसको होल्डिङ कम्पनी, रिलायन्स नेवल एन्ड इन्जिनियरिङले पनि घाटा व्यहोर्नुपरिरहेको छ । यसैगरी पावर जेनरेसन बिजनेस, रिलायन्स पावर पनि घाटामै छ । रिलायन्स पावर सन् २००८ मा भारतीय स्टक मार्केटको हिस्ट्रीमा सबैभन्दा ज्यादा चर्चामा रहेको आईपीओ थियो । 
 

सन् २००८ मा संसारकै छैटौँ धनी व्यक्ति

अनिल अम्बानीको घट्दै गएको सम्पत्तिबाट यो कुरा प्रस्ट हुन्छ कि सन् २००८ मा उनीसँग ४२ बिलियन डलर सम्पत्ति थियो । त्यसपछि लगातार उनको सम्पत्ति कम हुँदै गयो ।

सन् २००८ को अन्त्य र २००९ को सुरुआतमा विश्व मन्दीको समयमा उनको सम्पत्तिमा ७५ प्रतिशतले कमी आयो । सन् २००९ कै मध्यतिर उनको सम्पत्ति घटेर करिब १० बिलियन डलरमा सीमित भयो । 

सन् २००८ मै अनिल अम्बानी संसारका धनी व्यक्तिहरुको सूचीमा छैटौँ स्थानमा रहँदा उनका दाजु मुकेश अम्बानी ४३ बिलियन डलर सम्पत्तिका साथ पाँचौं स्थानमा थिए । 

अहिले मुकेश अम्बानीसँग ५१ बिलियन डलर सम्पत्ति छ । फोब्र्सको रियल टाइम नेट वर्थ इन्डिकेटरअनुसार अनिलको नेट सम्पत्ति १.५ बिलियन डलर छ । - एजेन्सी