काठमाण्डौ । ठूला लगानीकर्ताको सेयर बजारमा लगानीको तरिका आम लगानीकर्ताकोभन्दा फरक हुन्छ । यहीकारण बजारमा जतिसुकै उतारचढाव भए पनि त्यस्ता लगानीकर्ताले बजारबाट राम्रो रिटर्न लिइरहेका छन् । 

सेयर बजारमा जब तीव्र उछाल आउँछ, त्यसबेला आम लगानीकर्ता लगानी गर्न उत्सुक बन्दछन् । यस्तै, बजार निरन्तर गिरावट भइरह्यो भने आम लगानीकर्ताले सेयर बिक्री गर्ने हतारो गर्छन् । तर, ठूला लगानीकर्ता यस्तो गर्दैनन् । आज हामी ठूला र सफल लगानीकर्ताको यस्तै रणनीतिको बिषयमा तपाईलाई बताउन गइरहेका छौ, जसका आधारमा उनीहरुले बजारबाट राम्रो रिटर्न पाउने सफलता पाउँछन् ।  

उतारचढावमा कम ध्यान
यदि सेयर बादशाह वारेन बफेटदेखि सेयर बजारमै लगानी गरेर अर्बपति बनेका धनाढ्यहरुको रणनीतिमा ध्यान दिने हो भने उनीहरु बजारको उतारचढावमा नभई कम्पनी विशेषको प्रदर्शनमा बढी ध्यान दिन्छन् भन्ने कुरा बुुझ्न सकिन्छ । ठूला लगानीकर्ता सेयरमार्फत प्राप्त हुने अन्य खालका फाइदाहरुको बिषयमा समेत विशेष ध्यान दिन्छन् । तर, आम लगानीकर्ता बजारको मूल्यको उतारचढावमा मात्रै ध्यान दिन्छन् । 

बजारमा आफ्नो लक्ष्य प्राप्तिका लागि कुनै समयसीमा संभव हुँदैन । यहीकारण ठूला लगानीकर्ता लगानीको समयमा कुनै बन्धन वा समयसीमा मन पराउँदैनन् । उनीहरु त्यस्तो रकम मात्र लगानी गर्छन्, जसलाई लामो समयसम्म छाड्न सकियोस् । ठूला लगानीकर्ता बजारको जोखिमलाई राम्रोसँग बुुझ्ने क्षमता राख्छन्, यहीकारण मुख्य इण्डेक्स(जस्तै नेप्से)को तीव्रताको आधारमा लगानीको निर्णय लिंदैनन् । उनीहरु उचित र बलियो कम्पनीमा त्यो बेलासम्म पनि अडिरहन्छन्, जुन बेला बजारमा ठूलै पहिरो गइरहेको किन नहोस् ।

तपाईलाई कम्पनीले कमाइदिन्छ
बजारमा अर्बपतिहरु यसकारण लगानी गर्छन् कि उनीहरुलाई कुनै पनि कम्पनीको प्रदर्शनको सोझो लाभ प्राप्त होस्, त्यो पनि लगानीको एउटा निर्णयमार्फत । लगानीपछि उनीहरु त्यसमा आफ्ना अन्य विजिनेश तथा कामसँगै नजर पनि राखिरहेका हुन्छन्, तर मूल्यमा होइन । वारेन बफेटको मान्यतालाई मान्ने हो भने आफूले लगानी गरेको सेयरको मूल्यमा पटक–पटक ध्यान दिनुु सफल लगानीकर्ताको चरित्र होइन । सेयर किनेपछि धेरै नआत्तिई त्यसलाई केही समयका लागि छाडिदिनुपर्छ । यसको अर्थ सेयर बजारमा लगानी अन्य कुनै कारोबार वा विजिनेश संचालन गरेर समेत सहज ढंगले गर्न सकिन्छ । 

असीमित लाभ
सेयर बजारमा यदि सही कम्पनीलाई छान्न सकियो भने अन्य कुनै सम्पत्तिमा गरिएको लगानीको तुलनामा यसले असीमित लाभ दिनसक्छ । यसकारण अर्बपति यस्तो सेयरको पनि खोजी गरिरहेका हुन्छन्, जसको मूल्य तल्लो स्तरमा होस्, तर विज्ञहरुको माझमा त्यसको आउटलुक सकारात्मक होस् । किनभने यस्ता सेयरमा निकै कम लगानी गरेर लामो समयसम्म छाडिदिंदा यसबाट असीमित रिटर्न प्राप्त हुन्छ । अर्बपतिहरु एकपटकको लगानीमा कम लगानी फसाउनुुपर्ने मान्यता समेत राख्छन् । 

लाभांश आम्दानी
कम्पनीको प्रदर्शनसँगै त्यसले प्रत्येक वर्ष लगानीकर्तालाई दिने लाभांश पनि महत्वपूर्ण पाटो हो । किनभने लाभांश पनि लगानी गरिराख्ने एक कारण हो । यसकारण लामो समयसम्म लगानी गर्नसक्ने लगानीकर्ताहरुले बजारको उतारचढावको फाइदा मात्र प्राप्त गर्दैनन्, त्यस अवधिमा सम्बन्धित कम्पनीबाट हुने लाभांश घोषणाको फाइदा समेत लिइरहेका हुन्छन् । 

र, यो पनि 
अर्बपतिहरुका लागि सेयर बजारमा लगानी आम्दानी वृद्धि गर्नेसँगै व्यापार रणनीति राम्रो बनाउन समेत काम लाग्छ । किनभने प्राय संस्थापक लगानीकर्ता आफूलाई आवश्यक परेको रकम जोहोका लागि समेत सेयर धितो राखेर कर्जा लिने गर्छन् । यस्तै, कतिपय कम्पनीले डिल गर्दा सेयरको समेत अफर गरिरहेका हुन्छन् । कुनै कम्पनी, सम्पत्ति वा अन्य केही खरीद गर्ने क्रममा समेत नगदको साथमा सेयरको समेत अफर गर्ने गरिन्छ । यति मात्र होइन, पछिल्लो समय सेयर बजार गिफ्टको रुपमा दिने वा बच्चाको भविष्यका लागि समेत राम्रो साधन बन्न थालेको छ ।