काठमाण्डौ । विगत चार दिनदेखि खराब मौसमका कारण अलपत्र परेका पर्यटकलाई सोलुखुम्बुको लुक्लाबाट बोकेर काठमाडौं आउँदै गरेका सातवटा हेलिकप्टर मंगलबार बिहान काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरेका छन् ।

सोलुखुम्बुमा अलपत्र पर्यटक बोकेका आठवटा हेलिकप्टरमध्ये सातवटाले मौसम खराब भएपछि सिन्धुली र काभ्रेमा आकस्मिक अवतरण गराएका हुन् । आकस्मिक अवतरण गराउनेमा सिम्रिक, कैलाश र मनाङ एयरका हेलिकप्टर छन् ।

मौसमको खराबीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी र होक्सेमा मंगलबार बिहान चार हेलिकोप्टर आकस्मिकरूपमा अवतरण गरिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयराज सापकोटाका अनुसार बिहान करीब ७ बजेतिर नगरपालिकाका वडा नं २ हर्से र वडा नं १ र २ को सिमाना जोरपाटीमा सिम्रिक एयरका दुई हेलिकप्टर र मनाङ एयरको एक, कैलाश एयरको एक हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । प्रहरीका अनुसार लुक्ला विमानस्थलबाट काठमाडौँका लागि उडेका हेलिकोप्टर मौसम खराब भएपछि आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।

वडा नं २ का वडाध्यक्ष हरि खतिवडाका अनुसार वडा नं १ र २ आसपासमा अवरतण गरिएका चार हेलिकोप्टरमा १८ यात्रुमध्ये १६ विदेशी र दुई नेपाली रहेका छन् । उहाँका अनुसार यात्रुहरुसँग गरिएको कुराकानीका आधारमा लुक्लाबाट काठमाडौँका लागि उडेका हेलिकोप्टरमध्ये दुई काठमाडौँ अवतरण गरिसकेका र चार पाँचखालमा अवतरण गरिएको हो ।

अवतरण गरिएका हेलिकोप्टरका पर्यटक सबै सकुशल रहेका प्रहरीले जनाएको छ । जोरपाटी र हर्सेमा अवतरण गरिएका हेलिकोप्टरमध्ये दुईका चालक दल नेपाली र दुईका विदेशी रहेका वडाध्यक्ष खतिवडाले बताउनुभयो । हेलिकोप्टर धानखेतमा अवतरण गरिएको छ ।

अहिले पनि पानी परिरहेको र कुहिराले ढोकिएको अवस्थामा रहेको खतिवडाले बताउनुभयो । हिजोदेखि परिरहेको अविरल वर्षाका कारण अहिले पनि जिल्लाका विभिन्न स्थानमा बादलले ढाकेर आकाश धुम्म भइरहेको छ ।

पाँचखाल नगरपालिकाको वडा नम्बर ५ को जोरपाटी भन्ने ठाउँमा ३ वटा र होक्से भन्ने ठाउँमा एउटा हेलिकप्टर बिहान ८ बजे आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

त्यस्तै सोलुखुम्बुबाट उडेका तीनवटा हेलिकोप्टर सिन्धुलीको नेपाल थोकमा आकस्मिक अवतरण गरिएका छन्।

लुक्लाबाट जहाज उड्न नसकेपछि करिब ३ सय पर्यटक अलपत्र थिए। (राससको सहयोगमा)