काठमाण्डौ । कोरोनाभाइरसको असरले सारा विश्वमा भयको माहौल सिर्जना भइरहेको छ। विभिन्न देशमा यो भाइरसका संक्रमितहरु देखिएका घटना पनि धमाधम बाहिर आइरहेका छन्। 

यसैबीच एउटा अनुुसन्धानले यो भाइरसबारे नयाँ तथ्य सार्वजनिक गरेको छ। अनुसन्धानले यो भाइरस ढोका र गाडीको ह्यान्डिलमा पनि लामो समय टिकेर बस्न सक्ने जनाएको छ । यो अनुसन्धान जर्मनीको रुह युनिभर्सिटी र युुनिभर्सिटी अफ ग्रिफ्सवाल्डका विशेषज्ञ टोलीले गरेको हो। 

विशेषज्ञ टोलीले २२ वटा कोरोनाभाइरसका घटनालाई आधार बनाएर यस्तो तथ्य सार्वजनिक गरेको छ। अनुसन्धानअनुुसार कोरोनाभाइरस सिसा, प्लास्टिक, काठ र धातुबाट बनेका वस्तुहरुमा धेरै लामो अवधिसम्म जीवित रहन सक्छ। साधारण फ्लुजस्तै यो कुनै पनि वस्तुमा ४ डिग्री वा त्योभन्दा कम तापक्रममा एक महिनासम्म जीवित रहन सक्छ। तर ३० डिग्रीभन्दा धेरै तापक्रममा भने यसको जीवित रहने दर भने घट्ने गर्दछ। 

यो भाइरसलाई निर्मूल गर्न डिस्इन्फेक्टेन्टको प्रयोग गर्नुपर्दछ। अन्यथा यो साधारण फ्लुको तुलनामा ४ गुणा बढी समयसम्म कुनै पनि सतहमा जीवित रहन सक्छ। साधारण फ्लु २ दिनसम्म जीवित रहँदा कोरोनाभाइरस भने उही वातावरण र तापक्रममा ९ दिनसम्म कुनै पनि सतहमा दोस्रो व्यक्तिलाई आफ्नो सिकार बनाउन सक्छ । 

कोरोनाभाइरसलाई डिस्इन्फेक्टेन्टबाट निर्मूल पार्न सकिन्छ। अल्कोहल मिसाइएको स्यानिटाइजरले यसलाई १ मिनेटमै निर्मूल पार्न सक्छ। त्यस्तै ब्लिचले यसलाई निर्मूल पार्न केवल ३० सेकेन्डको समय लिन्छ। तर कोरोनाभाइरस कुुन वस्तुबाट कुनै व्यक्तिमा पुग्न कति समय लाग्छ भन्ने कुरा अहिलेसम्म प्रस्ट भइसकेको छैन।

विश्व स्वास्थ्य संगठनका अनुुसार भने यो भाइरसबाट बच्न नियमित रुपमा अल्कोहल मिसाइएको स्यानिटाइजरबाट हात धुनुपर्ने सुझाव दिएको छ। 

चिनियाँ स्वास्थ्य अधिकारीहरुले यो भाइरसबारे एउटा डरलाग्दो तथ्य खुलासा गरेका छन्। उनीहरुका अनुसार यो भाइरस अब हावामा तैरिएर अन्य व्यक्तिलाई पनि संक्रमित गरिरहेको छ। जसलाई एअर सोल ट्रान्समिसन भनिन्छ। 

यो तथ्य सार्वजनिक हुनुभन्दा पहिलेसम्म यो भाइरस डाइरेक्ट ट्रान्समिसन र कन्ट्याक्ट ट्रान्समिसनबाट मात्रै फैलिरहेको पुष्टि भएको थियो । – एजेन्सी