काठमाण्डौ । आर्थिक अवस्थाका कारण जापानका अधिकांश मानिसहरुले आफ्नो अवकाश उमेरपश्चात पनि काम गर्न चाहने गरेको एक सर्वेक्षणले देखाएको छ । हालै गरिएको एक सर्वेक्षणमा सहभागी करीब ६४ प्रतिशत जापानीहरुले आफूहरु अवकास उमेर ढल्किएपछि पनि काम गर्न चाहने बताएका छन् । 

अगस्ट महिनामा जापानको बीमा कम्पनी निप्पोन लाइफ इन्स्योरेन्सले आफ्ना ७ हजार ५४३ पोलिसी होल्डरहरु समक्ष गरेको सर्वेक्षणमा ३८.७ प्रतिशतले अवकाशपश्चात पनि आफूहरु अहिले काम गरिरहेको कम्पनीमा नै काम गर्न चाहने बताएका थिए । यस्तै २५.३ प्रतिशतले भने अवकाशपश्चात आफूहरु अन्य कम्पनीमा काम गर्न चाहने बताएका थिए । 

वर्तमानमा जापानका कम्पनीहरु कामदारहरुले चाहे ६५ वर्ष नपुगुञ्जेलसम्म काम गर्न अनुमति दिन बाध्य छन् ।  

अर्काे वर्षको अप्रिल महिनामा लागू हुने कानुनी संसोधनले व्यवसायीहरुलाई कामदारको अभावको सम्बोधन गर्न कामदारहरुलाई ७० वर्षसम्म काम गर्न अनुमति दिन बाध्य पार्नेछ । 

घट्दो जन्मदर र पाका उमेरका मानिसको बढ्दो संख्याले जापानमा कामदार अभावको समस्या चुनौतिको रुपमा देखिदै आइरहेको छ । 

कति वर्षसम्म काम गर्न चाहनुहुन्छ ? भने प्रश्नमा केहीले ६५ देखि ६९ वर्षसम्म पनि काम गर्न चाहेको बताएका थिए । यस्तै ३१.२ प्रतिशतले ६० देखि ६४ वर्षसम्मको उमेर छनौट गरेका थिए । यस्तै ११.७ प्रतिशतले आफुहरु ७५ वर्षभन्दा पनि बढी उमेर सम्म काम गर्न चाहने बताएका थिए । 

सर्भेमा सहभागीहरुले अवकास पश्चातको जीवनका लागि औसतमा ३०.३३ मिलियन जापानिज येन अर्थात २९०००० डलर बचाउन चाहने बताएका थिए भने ६२.१ प्रतिशतले भने अवकास पश्चात कति रकम पेन्सन र अन्य सुविधाको रुपमा पाइन्छ भनेर आफूहरु सुनिश्चित नभएको बताएका थिए ।