काठमाण्डौ । आइएमई समूहअन्तर्गतको एलटी इन्टरप्राइजेजले गोंगबुको नयाँबसपार्कमा अशोक ले–ल्याण्डको अत्याधुनिक र सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

३५ हजार बर्गफिट क्षेत्रमा अवस्थित सर्भिस सेन्टरकोे आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल, कार्यकारी निर्देशक हेमराज ढकाल र अशोक ले–ल्याण्डका प्रबन्ध निर्देशक विनोद देसारी तथा ग्लोबल सेल्स् तथा डिस्ट्रिब्यूशनका राजीव सहारियाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

एलटी इन्टरप्राइजेजले अशोकका गाडीहरु आयात, बिक्रीवितरण र सर्भिस र स्पेयर्सको पनि बिक्रीवितरण गर्दै आएको छ । नेपालभरका आफ्ना सर्भिस सेन्टरहरु तथा अथोराइज्ड सर्भिस सेन्टर र स्पेयर पार्टस आउटलेटमार्फत सर्वसुलभ रुपमा बिक्री पछिको सेवा उपलब्ध गराएको छ । अशोक ले–ल्याण्ड भारतकै सबैभन्दा ठूलो बस उत्पादन गर्ने कम्पनी हो । कम्पनीले १.५ टन क्षमताको साना पिकअप, सात सिट क्षमताको एम पिभीदेखि लिएर ४९ टन क्षमता सम्मका ठूला ट्याक्टर तथा टे«लर र ५०–६० सीट क्षमताका बस, ट्रिपर तथा ट्रकहरु निर्माण गरी विश्वभर बिक्री गर्ने गरेको छ ।

सर्भिस सेन्टर उद्घाटन कार्यक्रममा आइएमई ग्रुपका कार्यकारी अध्यक्ष ढकालले सर्भिस सेन्टर उद्घाटनले गाडीहरु बिक्री गर्नु भन्दा कम्पनी ग्राहकको सेवामा सेवामा प्रतिवद्ध रहेको देखाउने बताए । उनले सुविधा सम्पन्न वर्कसपहरु विस्तार गर्दै जाने पनि जानकारी दिए । सो अवसरमा देसारीेले आइएमई समूहसँग सहकार्य एउटा उपयुक्त ब्यापारिक साझेदार पाएको महसुस भएको बताए ।