काठमाण्डौ । डेढ दर्जन खराब संस्थाहरुलाई गाभेर प्रभू बैंकलाई आकर्षक वाणिज्य बैंक बनाउँदै लगेका अशोक शेरचनलाई संचालक समितिले दोश्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । 

खराब संस्थालाई गाभेर जर्जरपूर्ण अवस्थाबाट बैंकलाई माथि उठाउँदै सुविधाजनक अवस्थामा पुर्याएकै कारण बैंकर शेरचनको कुशल कार्यसम्पादनको संचालक समितिले मूल्यांकन गर्दै दोश्रो कार्यकालका लागि सीइओमा नियुक्त गरेको बैंकस्थित उच्च स्रोतले जानकारी दिएको छ । 

प्रभू बैंकको माघ १० गते बसेको संचालक समितिको बैठकले शेरचनलाई माघ १८ गतेदेखि लागू हुने गरी ४ वर्षको दोश्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनको पहिलो कार्यकाल माघ १७ गतेदेखि सकिँदै थियो । 

शेरचनकै नेतृत्वमा प्रभू बैंकले खराब र धराशायी बनेका संस्थाहरुलाई गाभेर पछिल्लो समय निकै लोभलाग्दो प्रगति गरिरहेको छ । टाउको दुखाईको विषय भएको खराब कर्जा नियन्त्रणमा आइसकेको छ भने उनकै कुशल नेतृत्वका कारण लगानीकर्ताले यो पटक लाभांश समेत पाएका छन्।

बैंकलाई सुधारको बाटोमा लगेका शेरचनलाई अबको कार्यकालमा टप वाणिज्य बैंक बनाउने जिम्मेवारी समेत सुम्पिइएको एक संचालकले जानकारी दिए ।