– भक्तराज रसाइली

काठमाण्डौ । दुई कार्यकाल स्टक ब्रोकर्स एसोसिएसनमा अध्यक्षको भूमिका सफलपूर्वक निभाएका प्रियराज रेग्मी अहिले ब्रोकर नम्बर ५० कृष्टल कन्चनजंघा सेक्युरिटिज् प्रालिका कार्यकारी अध्यक्ष छन् ।

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष हुँदै रेग्मीले पूँजीबजार विकास र विस्तारका लागि नियामकमाझ बलियो भूमिका निभाएका थिए । जुन आजको समयमा समेत निरन्तरता रहँदै आएको छ । नियामक निकायका उच्च अधिकारीमाझ समेत उनी नामझै प्रिय बनेका छन् ।

रेग्मीको पुख्र्यौली घर गोरखाको भीमसेन थापा गाउँपालिका–१ मसेल हो। हाल उनी काठमाण्डौको नागार्जुन नगरपालिका–१ एहिटीका बासिन्दा हुन्।

विसं. २०५२ सालमा एसएलसी दिएर उच्च शिक्षाका लागि रेग्मी राजधानी प्रवेश गरेका थिए । राजधानीमा अध्ययन गर्ने सिलसिलामा उनले एउटा सिमेन्ट उद्योगमा प्रशासन सम्हाले ।

शंकरदेव क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गरिसकेपछि एउटा सहकारीको नेतृत्वमा सम्हाल्दै गर्दा वित्तीय क्षेत्र र सेयर बजारबारे सामान्य ज्ञान हासिल गर्न सकेको रेग्मी सुनाउँछन् । पछि उनलाई पनि सेयरमा लगानी गर्ने मोह बढ्दै गयो । २०६३ सालदेखि आफूले प्राथमिक बजारमा लगानी गर्न सुरु गरेको उनले बताए । नेप्सेले २०६४ सालमा ब्रोकर लाइसेन्स खुला गरेपछि उनले परीक्षा दिएरै ब्रोकर लाइसेन्स हात पार्न सफल भए ।

आईकम पास भएपछि नेपाल प्रहरीको असई (प्राविधिक कम्प्युटर) मा जागिर खाने इच्छुक भए पनि रेग्मीले उत्तीर्ण हुन नसकेको विगत कोट्याए । त्यसपछि अध्ययनलाई निरन्तरता दिँदै रेग्मी डिग्रीको पढाइ सकेर सहकारीमा आवद्ध भएका थिए ।

उसो त डिग्रीको थेसिसमा पूँजीबजारको दोस्रो बजारबारे नै शोधपत्र तयार गर्दागर्दै रेग्मीले पूँजीबजारबारे जानकारी भएकोले समेत थप हौसिएको बताए । ‘दिगो व्यवसाय होला कि भनेर किन प्रयत्न नगर्ने भन्दाभन्दै ब्रोकर बनेँ’, उनी भन्छन् ।

कृष्टल कन्चनजंघाको स्थापना २०६४ साल पुस ४ गते भएको हो । ३ करोड ८२ लाख रपैयाँ चुक्तापूँजी भएको कम्पनीको नेट्वर्थ करिब ७ करोड रुपैयाँ रहेको छ ।

पाँचजना प्रमोटर रहेका कम्पनीमा १४ जना कर्मचारी कार्यरत छन् । उपत्यकाबाहिर शाखा कार्यालय विराटनगर जलजला चोकबाट समेत सेवा दिइरहेको कम्पनीले पूर्वाधार सच्चिए थप १० ठाउँमा शाखा विस्तार गर्ने लक्ष्य राखेको छ । कार्यालय समयको हकमा बिहान ९ः३० बजेदेखि बेलुकी ६ बजेसम्म रहेको छ ।

कृष्टल कन्चनजंघाले डीपी सेवासमेत दिँदै आएको छ । २०७१ साल फागुन १४ बाट सुरु गरेको डीपी सेवा लिने व्यक्तिगत र संस्थागततर्फ जोडी कुल ४ हजार ७२३ डिम्याट खाता खोलिएको कम्पनीले जनाएको छ । कम्पनीले गत आव २०७५÷७६ मा कुल २०८ कम्पनीका ४ अर्ब ४२ करोड ५८ लाख रुपैयाँबराबरको कारोबार गरेको छ ।

कृष्टल कन्चनजंघामा केवाईसी अपडेट ३ हजार ४३१ छन् । औसत २० जना दैनिक उपस्थित रहने यो ब्रोकर हाउसमा नियमित औसत २० जनाले धितोपत्र कारोबार गर्दै आएका छन् । अनलाइन कारोबार गर्न युजर लगइन लिनेको संख्या भने ३९५ रहेको कम्पनीले जनाएको छ ।

मध्यम तर औसतभन्दा तल नै रहेको ब्रोकर कम्पनी भन्न रुचाउने कार्यकारी अध्यक्ष रेग्मी क्म्प्ल्यान्सका हिसाबमा सचेत र नियामकको अनुपालकमा अब्बल रहेको दाबीसमेत गर्छन् । धितोपत्र कारोबारको बिक्रीपछि भुक्तानी व्यवस्था पनि राम्रो रहेको रेग्मीको भनाइ छ ।

कमिसनमात्रै असूल गर्ने ध्याउन्नमा नलागी बजारबारे निहीत जोखिम यथार्थ काउन्सिल र लगानीकर्ता (ग्राहक) का सोधपुछ र जिज्ञासालाई मेट्ने प्रयास गर्ने विशेषता बोकेको ब्रोकरका रूपमा रहेको रेग्मी बताउँछन् । ‘यहाँ आएका ग्राहक रमाउँछन् र सन्तुष्ट पनि छन्’, उनी भन्छन् ।

ब्रोकर लाइसेन्स पाएका ब्रोकरहरुलाई विशुद्ध कारोबारमा मात्रै सीमित राख्न नहुने उल्लेख गर्दै रेग्मीले बिजशालासँग भने, ‘ब्रोकरलाई जिम्मेवार बनाउँदै फुलफेजमा सेवा प्रवाह गर्न पाउनुपर्छ । एड्भाइजरी, पोर्ट्फोलियो व्यवस्थापक, वित्तीय औजारको सेल्स काउन्टर सञ्चालन गर्न दिनुपर्छ । यसबाट गुणस्तरीय सेवामा अभिवृद्धि र ब्रोकरहरुको व्यावसायिक क्षमता बढ्छ । साथै व्यवसाय पनि दिगो र टिकाउ हुन जान्छ ।’

प्रकाशित सूचना, डेटाका आधारित काउन्सिल र ग्राहकका जिज्ञासालाई सम्बोधन हुने गरेको रेग्मीको दाबी छ । प्रतिफल र जोखिमबारे यथेष्ट जानकारी दिने र आपतकालीन अवस्थामा भुक्तानीमा लचकताको सुविधा रहेको रेग्मीको भनाइ छ ।

५० नम्बर ब्रोकरबाटै नै किन कारोबार गर्ने भन्ने बिजशालाको जिज्ञासामा रेग्मी भन्छन्, ‘जिम्मेवार ब्रोकर र नियम अनुपालनमा कटिबद्ध भई सेवा दिइरहेका छौं, कमिसन बढाउन वा कमाउन नै भनेर नियतवश कारोबार बढाउने प्रयास गर्दैनौँ, ग्राहकका खरिदबिक्री आदेशको पूर्ण कार्यान्वयनमात्रै गर्छौं ।’

कम्पनीले हालसम्म कुनै पनि नियामकीय कारबाही नभोगेको रेग्मीको दाबी छ । नियामकको नियमनमा पनि समयसापेक्ष क्रमागत विकास र सुधारकको भूमिका देखापर्न थालेकोमा रेग्मी नियामकको प्रशंसा गर्छन् ।

समग्र पूँजीबजारले पूँजी संकलन तथा परिचालन, आर्थिक गतिविधिमा चलायमान, रोजगारी सिर्जनामा समेत उल्लेखनीय भूमिका खेल्ने गरेको रेग्मीको तर्क छ । आयात प्रतिस्थापन, तरलता वृद्धिसँगै उद्यमशीलता र देशलाई समृद्धिको मार्गमा डोर्याउने काममा समेत पूँजीबजारले टेवा पुर्याउने रेग्मीको बुझाइ छ ।

पूँजीबजारमा हाल औजारहरुको नगन्य उपस्थिति, बन्ड मार्केटको विकासलगायतका विषय चूनौतीका रूपमा रहेको बताउँदै रेग्मी भन्छन्, ‘सबैले आअफ्नो ठाउँबाट स्वस्थ र सकारात्मक भूमिका खेले पूँजीबजारको विकास र विस्तार सम्भव छ ।’

संकुचित दायरा र भरोसाको अभाव भने निकै खट्केको विषय रहेको रेग्मीको अनुभव छ । उनी भन्छन्, ‘पूँजीबजारको विकासका निम्ति राज्यले समेत आवश्यकता महसुस गर्नुपर्ने हुन्छ ।’

लगानीकर्ताका आँखामा कृष्टल कन्चनजंघा सेक्युरिटिज प्रालि

नवराज घिमिरे (४३ वर्ष) व्यवसायी, बालाजु

म विगत ७ वर्षदेखि सेयरमा लगानी गर्दै आएकोमा ५० नम्बरमा जोडिएर सेवा लिएको ६ वर्ष भयो । समग्रमा भन्नुपर्दा व्यवहारिक र उचित सरसल्लाह पाएका छौँ । उत्कृष्ट ठानेर नै म यहाँ आएको हँु । म १० नम्बरमा ७ नम्बर दिन्छु ।

ऋषिराम खनाल (४५ वर्ष), सहकारी सञ्चालक, सानोठिमी

म सेयर बजारमा १२ वर्षदेखि छु । यहीँबाट सेयर खरिदबिक्री गर्न थालेको चाहिँ ७ वर्षजति भयो । अन्य ब्रोकरकोमा भन्दा यहाँ राम्रो लागेकोले सेवासुविधा राम्रो लाग्छ । आगामी दिनमा मार्जिन ऋणको व्यवस्था यहाँबाट लिन पाइयोस् । म १० नम्बरमा ८ नम्बर दिन चाहन्छु।

नवराज उप्रेती (५८ वर्ष), पूर्वजागिरे, बानेश्वर

सेयर बजारमा लगानी गरेको १६ वर्ष भयो र यहाँको म स्थापनालदेखिकै सेवाग्राहीसमेत हुँ । सबै कर्मचारी र कम्पनी अध्यक्ष मित्रवत हुनुहुन्छ । मलाई यहाँ पायक लाग्छ । यहाँको सेवा  सुविधाबाट म सतप्रतिशत सन्तुष्ट छु । आगामी दिनमा ५० नम्बरमै पनि साप्ताहिक सेयर सचेतना कक्षा सुरु भए हुन्थ्यो कि ! म १० नम्बरमा ९ नम्बर दिन्छु ।

सोम सुवेदी (४८ वर्ष), पूर्णकालीन लगानीकर्ता, कीर्तिपुर

सेयर बजारमा गरेको प्रवेश र यहाँबाट सेवा लिएको ६ वर्ष नै भयो । सेवासुविधाहरु एकदम ठीक लाग्छ । म यहीँ खुसी र सन्तुष्टि भएकाले अन्तसमेत गएको छैन । म १० नम्बरमा ९.५ नम्बर दिन्छु ।