-आर.आर. हरिकृष्ण जोशी
सोेचबिना कुनै पनि कार्य सम्भव छैन ।  हामीमा कुनै काम गर्नु भन्दा पहिला सोच आउँछ र त्यही सोचको आडमा रहेर हामी काम शुरु गर्छौ । तर हामीमा आएका सबै सोंच राम्रा नै हुन्छन् भन्ने छैन हाम्रो सोंच भनेको त्यो कामको बिउँ हो, जुन गर्नका लागि तयारी गर्दै हुनुहन्छ, बिउँ कस्तो रोप्ने भन्ने पहिला हामी सचेत हुनुपर्दछ । बिउँअनुसारको फल उम्रने कुरामा दुईमत छैन, तर बिउँ सकारात्मक कि नकारात्मक भन्ने हो, जुन बिउँले हाम्रो दैनिक जीवनमा ठूलो महत्व राख्दछ । तपाई जतिसुकै जान्ने हुनुहोस्, सकारात्मक सोंचबिना तपाइँले चाहे जति सफलता प्राप्त गर्न सक्नुहुन्न । 

सकारात्मक सोच करिअरसँग मात्रै सम्बन्धित होइन, यस्तो सोंचले व्यक्तिगत जीवन पनि बदल्नसक्छ । यो पृथ्वीमा एकैपटकमा केही पनि बनेको छैन र बन्दैन पनि । हो जे काम गर्दा पनि पहिला सोच बनाउनुपर्दछ। मात्रै यो हो कि सोच सकारात्मक  कि नकारात्मक । तपाई जस्तो सोच्दै जानुहुन्छ पछि त्यहीे नै तपाईको ब्यबहार बन्न पुग्छ  । 

हाम्रा कतिपय साथीहरु हेरौं न, नकारात्मक सोच भएको साथीले खाली समस्याका मात्रै कुरा गर्दछन् भने सकारात्मक सोच भएको साथीले त्यही चीजलाई सम्भाबनाको रुपमा कुरा गर्दछन, कामको गहिराई नबुझ्ने अनि सतहीमा नकारात्मक सोंचका साथ टिप्पणी गर्ने प्रबृत्ति हामीहरुमा छ  । 

मेरै आफनै अनुभव म सानो हँुदा बिरालोले मुसा मुखले समाएर माथ्र्यो र मेरो दिमागमा के रहेको थियो भने बिरालाले टोकेपछि त मरिहालिँदो रहेछ नि । तर, समयक्रममा बुझ्दै जाँदा तिनै बिरालाले आफ्नो बच्चा एक ठाउँबाट अर्को ठाउँमा सार्दा पनि मुखले लैजाँदो रहेछ, अनि मलाई बल्ल थाहा भयो–बिरालाले मुखमै च्याप्दा पनि नमरिने पनि रहेछ, यो सबै बुझाईको कारणले भएको हो । 

सकारात्मक सोच आशा र बिश्वासबाट पैदा हुने चिज हो, जब तपाई आफ्नो लक्ष्यसँग आशा र विश्वास राखी ‘सम्भब छ, मैले गर्नसक्छु’ भन्नुहुन्छ भने तपाई सफलता प्राप्त गर्न सक्नुहुन्छ जब तपाई पहिल्यै ‘सकिन्न, मबाट हँुदैन’ भन्नुभयो भने तपाईलाई सफलता प्राप्तिमा कठिनाई हुन्छ । आशा र विश्वास राखियो भने तपाईको आत्मविश्वास पनि बढ्छ ।  

मानौ तपाईको परीक्षा आउन अब ३० दिन बाँकी छ भने अब तपाईको सोचमा ३० दिन मात्र बाँकी छ । अब बर्बाद भयो, अब म पास हुन सक्दिँन भनेर सोच्न थाल्नु भयो भने तपाईको बाँकी दिन पनि यही सोच्दै बित्छ र परिक्षाका लागि तपाईको तयारी पुग्दैन र रिजल्ट सकारात्मक आउँदैन । जब तपाई त्यही केशलाई फरक तरिकाबाट हेरी अझै ७२० घन्टा बाँकी छ, त्यसमा आधी ३६० घण्टा मात्र पढेँ भने पनि भनेर सोचेर पढ्न थाल्नुभयो भने नतिजा पनि सकारात्मक आउँछ । समय एउटै हो कसैले मात्र ३० दिन भने कसैले अझै ७२० घण्टा । सोच असल राखेर कर्म गर्यौ भने सफलता पाईन्छ र खराब सोच राखेर कर्म गर्यौ भने आफैंलाई पर्दछ भन्ने तलका दुईवटा फरक सोचकोे कथाबाट पनि सकिन्छ ।

असल सोचका साथ गर्दाको परिणाम  
एक जना किसान आफ्नो खेतमा निकै राम्रो बाली उत्पादन गर्दा रहेछन्, त्यस खेतको नजिकै मानिस हिँड्ने बाटो रहेछ र जोसुकै मानिस त्यस किसानको खेतको बाटो हिँड्दा उनको खेतको बालीमा आँखा लाग्दो रहेछ । सबैले मनमनै कति राम्रो बाली उत्पादन गरेको भन्दै जाँदा रहेछन् । प्रायजसो त्यही बाटो हिँडिरहने एउटा किसानको मनमा प्रश्न उब्जेछ–‘होईन यी किसानले कसरी यस्तो राम्रो बाली बनाउने रहेछन, बुझ्न पर्यो, म पनि किसान नै हो,  मेरोमा त आजसम्म यस्तो राम्रो कहिल्यै भएको छैन’ भन्ने मनमा कुरा आएछ र उ राम्रो बाली हुने किसानकहाँ सोध्न पर्यो भनेर गएछन् र ती मेहेनती किसानलाई देखेपछि प्रायजसो त्यही बाटो हिँडने मानीसले राम्रो बाली उत्पादन गर्ने किसानलाई प्रश्न गरेछन्–‘यो बाटो म धेरै पटक हिँडे, जतिखेर हिँड्दा पनि र जे बाली लगाउँदा पनि तपाईको बाली सधैं राम्रो हुन्छ, आखिर के गर्नुहुन्छ ? त्यस्तो र सधै बाली राम्रो उत्पादन हुन्छ भनेर सोधेपछि उनी मुस्कुराउँदै भन्छन्–‘बाली राम्रो त्यसै भएको होईन एउटा त मेहनत नै हो भने संगसंगै मैले मेरो खेतको वरिपरिका किसानलाई पनि मैले लगाउने बालीको बिउ दिन्छु, जसले उनीहरुको बालीमा किरा नलागोस् र मेरो खेतको बालीलाई असर नगरोस् भन्ने नै हो । यदि मैले उनीहरुलाई राम्रो बिउँ दिइँन भने उनीहरुले नराम्रो बिउँ रोप्न सक्छन् र बालाीमा विभन्नि किसिमका रोगहरु लाग्न सक्छन् । त्यो रोग मेरो बालीमा पनि सर्न सक्छ र ती रोगहरुले मेरो बालीलाई पनि असर गर्छ’ भन्छन र बाटोमा हिँडने किसान उनको कुरा सुनेर खुशी हुन्छन् र फेरी उनी मुस्कुराउँदै थप्छन्–‘कृषिमा मात्रै होईन हाम्रो जीवन पनि त्यही हो, जब जीवनमा सफल हुन चाहानुहुन्छ भने आफूसँग सम्बन्धित सबैलाई राम्रो बनाउनुहोस अनि उनीहरुलाई पनि असल सोचका साथ सफलताको बाटोमा हिँडाउनुहोस्, तब मात्र तपाई पनि सफल हुनुहुन्छ र समाज पनि सफल हुन्छ’ भनेपछि बाटोमा हिँडने व्यक्ति मुस्कुराउँदै त्यहाँबाट उठेर हिँड्छन् ।

खराब सोंचका साथ काम गर्दाको परिणाम

एउटा गाउँमा चार चोरहरु सँगै मिलेर बस्थ्दा रहेछन् । उनीहरु कहीँ चोर्न जान पर्यो भने सँगै मिलेर जाने गर्दा रहेछन् । जे चोरेर ल्याउथे, त्यो एक आपसमा बराबर भाग लगाउँदा रहेछन् । तर, तर सबैको मनमा यदि चोर्ने क्रममा कुनै दिन बहुमूल्य सम्पत्ति वा वस्तु भेटियो भने आफ्ना सबै साथीलाई मारेर त्यो महङ्गो सामान आफूले मात्र लिई आनन्दको जीवन यापन गर्छु भन्ने सोंच रहेछ । एकदिन चारै जना हिँडदै जाँदा धेरै पर पुगेपछि एउटा घरमा धेरै सम्पत्ति रहेको थाहा पाएछन् र चोर्ने योजनाका साथ उनीहरुले त्यो घरको सम्पत्ति चोर्न सफल भएछन् र त्यहाँबाट चोरेर केही पर पुगेपछि घरधनीले पुलीसमा रिपोर्ट र प्रहरीले आफूहरुलाई खोजिरहेको थाहा पाएर उनीहरु बच्नका लागि सम्पत्तिसहित नजिकैको जंगलमा गएर लुकेछन् । केही दिनपछि साथमा भएको खाने कुरा सकिएछ र एक आपसमा सल्लाह गरेछन र दुईजना चोरेको सम्पत्ति कुरेर जंगलमै बस्ने र बाँकी दुईजनाले चाहि बजार गएर खानेकुरा ल्याउने भन्ने सहमति भएछ । सहमतिअनुसार दुईजना खाने कुरा लिन हिँडेछन्, जब उनीहरु बजार पुगे पहिलाभन्दा पुलिसले कम खोजिरहेको भन्ने बुझेपछी उनीहरु दुईजनाले जंगलमा सम्पत्ति कुरेर बसेका दुईसाथीको हत्या गर्ने र सबै सम्पत्ति आफूले लिने योजना बनाएका छन् । योजनाअनुसार दुईजना मिली लिएर जाने खानामा विष मिलाएर लगेछन र उनीहरु खाना लिएर पुगेपछि सम्पत्ति कुरेर जंगलमा बसिरहेका व्यक्तिले अकस्मात खुँडा प्रहार गरी खाना लिएर आउने दुवैलाई मारेछन् । किनकि उनीहरुले पनि बजार गएका दुई चोरले झै दुई साथीको हत्या गरी सम्पत्ति आफ्नो मात्र बनाउने योजना बनाएका थिए । सम्पत्ति सबै आफ्नो हुने भएपछि हर्षले विभोर हुँदै दुवैजना पेट भर्न भन्दै खाना खान थालेछन् । खाना खाएपछि त्यहाँ मिसाइएको विषको प्रभावले उनीहरुको पनि प्राण पखेरु उडेछ ।
(लेखक बैंकर हुन् ।)