काठमाण्डौ । आफ्नो आह्वानलाई सेयर लगानीकर्ताले नटेरेपछि र ब्रोकर समेत विरुद्धमा उत्रिएपछि लगानीकर्ताको दवाब समूहले मंगलबार(आज)देखि कारोबार बन्दको कार्यक्रम फिर्ता लिएको छ । 

दवाब समूहले मंगलबार बिहान विज्ञप्ति प्रकाशित गरी कारोबार बन्दको कार्यक्रम फिर्ता लिएको हो । 

दवाब समूहका हरि ढकाल र तिलक कोइराला सोमबारदेखि नेप्से अगाडि आमरण अनसनमा छन् । आमरण अनसनसँगै यो समूहले कारोबार बन्दमा सहयोग गर्न लगानीकर्तालाई आह्वान गरेको थियो । तर, लगानीकर्ताले सो आह्वानलाई लत्याउँदै कारोबारमा सहभागिता जनाएपछि उनीहरुको पूर्वघोषित कार्यक्रम संकटमा परेको थियो । 

लगानीकर्ताको स्वस्फूर्त कारोबारमा सहभागी हुने निर्णय गरी कारोबारमा उत्साहप्रद सहभागिता जनाएको केही घण्टापछि बसेको स्टक ब्रोकर एशोसिएसनले समेत दवाब समूहको नामबाट आफूहरुलाई धम्की आएको भन्दै कारोबार नरोक्ने उल्लेख गर्दै सरकारसँग सुरक्षा मागेको थियो । ब्रोकरले समेत असहयोग गर्ने भएपछि झडपसँगै अप्रिय घटना हुनसक्ने भन्दै दवाब समूहले कारोबार बन्दको कार्यक्रम फिर्ता लिइएको प्रष्ट्याएको हो ।

दवाब समूहले आफूहरुको आन्दोलनविरुद्ध सरकारले दमनकारी नीति लिएको दाबी समेत गरेको छ । 

यसैबीच, लगानीकर्ताको दवाब समूहको तर्फबाट सुरु आमरण अनसन आज पनि जारी रहेको छ । दवाब समूहले अनसनमा बसेका ढकाल र कोइरालाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको दाबी समेत गरेको छ ।