काठमाण्डौ । काठमाण्डौको कलङ्की निवासी असाधारण तौल भएकी एक ३१ वर्षीया महिलाले नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुको सफल शल्यक्रियाको मद्धतबाट स्वस्थ बच्चालाई जन्म दिएकी छिन् । 

यो घटनालाई नेपालको मेडिकल इतिहासमै एक दुर्लभ मानिएको छ ।

गर्भवती मेरिना हमालको तौल १६८ केजी रहेको थियो । उनको शारिरीक बनावट हेर्दा उपचार नै कठीन हुने लागे पनि नर्भिकका चिकित्सकहरुले सफल शल्यक्रिया गरेका हुन् । 

असार १० गते अस्पताल भर्ना भएकी ३७ हप्ता बढीकी ती गर्भवतीलाई असार ११ गते बिहान ११ बजे नर्भिककी वरिष्ठ प्रसूति तथा बाँझोपन, टेष्टट्युब बेबी विशेषज्ञ र ल्यापारोस्कोपिक सर्जन डा. नुतन शर्माले शल्यक्रिया गरी स्वस्थ शिशु जन्माउन सहयोग गरेकी थिइन् । २.९५ केजी तौल भएकी शिशुको र असाधारण तौल भए पनि आमाको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।

 

अस्पतालका अनुसार सामान्यतया यति धेरै तौल र शारिरीक बनोट भएका महिलाको शल्यक्रियात्मक प्रसूति गराउनु आफैंमा कठिन कार्य मानिन्छ र सम्भवत यस्तो असाधारण तौल भएकी महिलाको शल्यक्रियात्मक प्रसूति नेपालमै पहिलो हुनसक्ने बताइएको छ । 

डा. नुतन शर्मा जटिल र जोखिमयुक्त प्रसूति सेवाका अतिरिक्त बाँझोपन तथा टेष्टट्युब बेबीका लागि समेत नेपालमै ख्यातिप्राप्त विशेषज्ञ हुन् ।