काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षका लागि ढिलोमा असार चौथो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी सुरु गरेको छ । 

केन्द्रीय बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार असारको चौथो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने योजनासहित तयारी थालिएको छ । 

मौद्रिक नीतिका लागि सर्वसाधारण तथा अन्य सरोकारवाला निकायहरुबाट सुझाव संकलनको काम भइरहेको छ । केन्द्रीय बैंकले अनलाइनबाट समेत सुझाव लिइरहेको छ । 

यो बीचमा नेपाल व्यवस्थापन संघले एक औपचारिक कार्यक्रमको आयोजना गरी मौद्रिक नीतिको विषयमा छलफल गरेको छ । सो क्रममा आएका सुझावहरुलाई उसले प्रतिवेदनको रुपमा राष्ट्रबैंकलाई बुझाएको छ । 

यस्तै, क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको संगठनहरुले समेत नेपाल राष्ट्रबैंकलाई मौद्रिक नीतिका लागि आवश्यक सुझाव बुझाइसकेका छन् । 

यी सबै पक्षबाट आएका सुझाव र नेपाल राष्ट्रबैंकको अनुसन्धान विभागको अनुसन्धानबाट गर्नैपर्ने भनी किटान भएका व्यवस्थाहरु समेत यसपटकको मौद्रिक नीतिमार्फत हुनेछ । 

बजेटले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य र ६ प्रतिशतको सीमाभित्र मुद्रास्फितिलाई कायम गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेर मौद्रिक नीति निर्माण थालिएको केन्द्रीय बैंक स्रोतले जनाएको छ । 

यसपटकको मौद्रिक नीतिमार्फत बैंकहरुको बिग मर्जरको विषयलाई दिशानिर्देश दिने गरी नीति बनाइनेछ भने सुनचाँदीलाई निक्षेपको रुपमा राख्न सकिने बजेट घोषणालाई समेत कार्यान्वयनमा ल्याउने गरी उपयुक्त मोडालिटीसहितको व्यवस्था हुनेछ । 

सधैं तरलता अभावको समस्या आइरहने परिस्थितिको समेत विश्लेषण गरी यो विषयमा समेत नेपाल राष्ट्रबैंकले केही सुधारका कार्यक्रम ल्याउनसक्ने छ । 

गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यालयको अन्तिम मौद्रिक नीति भएकोले समेत उनले यसपटक केही महत्वपूर्ण विषयमा ठोस निर्णय लिन चाहेका छन् । विशेष गरी बैंकहरुबीचको बिग मर्जरलाई फोर्सफुल नै भए पनि अगाडि बढाउनुपर्ने मूडमा उनी रहेका स्रोत बताउँछ ।