काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमीटेडले आगामी असार १७ गतेदेखि १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो बिमा कम्पनीले मंगलबार एक सूचना जारी गर्दै १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ४४ हजार ९ सय ७३.५० कित्ता हकप्रद सेयर निश्कासन गरिने बताएको हो ।

कम्पनीको सेयर खरीद गर्न चाहने सेयरधनीले असार १७ देखि साउन २० गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले गर्नेछ।

यो कम्पनीको हकप्रद प्रयोजनका लागि जेठ १ गतेलाई बुक क्लोजको मिति तोकिएको थियो । यसको अर्थ त्यसको ठीक अघिल्लो दिन अर्थात बैशाख ३१ गतेसम्म यो कम्पनीको सेयर किनेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।

इच्छुक सेयरधनीले सिद्धार्थ फाइनान्सका सबै शाखा कार्यालय, एनएमबी क्यापिटलको नागपोखरीस्थित मुख्य कार्यालय तथा आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल यो कम्पनीको चुक्तापूँजी ६४ करोड १४ लाख रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि बढेर ८६ करोड ५९ लाखको उचाईमा पुग्नेछ ।

दोश्रो बजारमा यो कम्पनीको अन्तिम बिक्री मूल्य प्रतिकित्ता रु. ७३४ रुपैयाँ रहेको छ ।