काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले तोकेको समयमा मौद्रिक नीति आउने संभावना टरेको छ । 

राष्टबैंकको संचालक समितिमा समेत रहेका अर्थ सचिव राजन खनाल विदेश भ्रमणमा गएका कारण असार २७ गते आउने भनिएको मौद्रिक नीति छिटोमा पनि साउन पहिलो साताका लागि सरेको हो । 

नेपाल राष्ट्रबैंकस्थित स्रोतका अनुसार गभर्नर डा. नेपालले असार २७ गते नै मौद्रिक नीति ल्याउन चाहेका थिए । उनले केही दिनअघि वाणिज्य बैंकका अध्यक्ष र सीइओलाई बोलाएर असार २७ गते मौद्रिक नीति आउने भन्दै त्यसअघि नै मर्जर पार्टनर खोजेर लिखित प्रतिबद्धता पठाउन निर्देशन दिएका थिए । तर, गभर्नरले भनेजस्तो असार २७ गते मौद्रिक नीति आउन नसक्ने देखिएको हो । 

राष्ट्रबैंकका अधिकारीहरुले तयारी पूरा नभएका कारण मौद्रिक नीतिको मिति केही पर सरेको बताएका छन् । तर, कतिपय स्रोतहरुले भने गभर्नरले मौद्रिक नीतिमार्फत ल्याउन चाहेको बैंकहरुको बिग मर्जरको नीतिविरुद्ध विभिन्न समूहले दवाब सिर्जना गरेका कारण समेत ढिलाई भएको हो ।