काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्षको अन्तिम दिन असार मसान्तमा राति अबेरसम्म पनि बैंक तथा बित्तीय संस्थाको सेवा सुचारु राख्न निर्देशन दिएको छ । 

राष्ट्रबैंकले एक सूचना जारी गर्दै राजश्व बुझ्ने प्रयोजनका लागि राजश्वको कारोबार गर्ने सम्पूर्ण बैंक तथा तिनका शाखा र चेक क्लियरिंग गर्ने प्रयोजनका लागि अन्य बैंक तथा बित्तीय संस्थाहरुले समेत असार मसान्त(असार ३२ गते)को दिन राति अबेरसम्म सेवा सुचारु राख्न निर्देशन दिएको हो । 

केन्द्रीय बैंकले यसअघि पुस २६ गते एक निर्देशन जारी गर्दै वर्षभरि नै असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सोपछि मसान्तसम्म शनिवार लगायत जुनसुकै सार्वजनिक विदा परेता पनि राजश्व संकलन गर्ने आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरु, राजश्वको कारोबार गर्ने बैंक तथा क्लियिरंगको काम गर्ने बैंकहरुलाई पूरै दिन सेवा खुल्लै राख्न भनेको थियो । 

सो व्यवस्था निरन्तर रही असार ३१ गतेसम्म पूरै दिन त्यस्ता बैंक तथा बित्तीय संस्था खुल्ला राख्नुपर्नेछ भने ३२ गते चाहि राति अबेरसम्म राजश्व बुझ्ने व्यवस्थाका लागि सेवा सुचारु राख्नुपर्ने सूचनामा उल्लेख छ ।