काठमाण्डौ । आगामी पुस  २९ गते शनिवार(विदाको दिन) समेत बैंक तथा बित्तीय संस्थाहरु  खुल्ने भएका छन् ।

अर्थमन्त्रालय अन्तरगतको राजश्व महाशाखाको निर्देशन अनुसार राष्ट्रबैंकले बुधबार बैंक तथा बित्तीय संस्थाहरुको नाममा निर्देशन जारी गर्दै शनिवार समेत  बैंकिंग सेवा सुचारु गर्न भनेको हो ।

पुस २९ गते शनिवारका दिन सबै आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरु, राजश्व संकलन गर्ने नेपाल राष्ट्रबैंक लगायत सबै बैंकहरुसहित राजश्व बापत प्राप्त हुने चेक क्लियरिंग गर्ने प्रयोजनका लागि अन्य बैंक तथा नेपाल क्लियरिंग हाउस पनि खोल्नुपर्नेछ ।

राष्ट्रबैंकले बर्षभरि नै असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सो पछि मसान्तसम्म शनिवार लगायत जुनसुकै सार्वजनिक विदा परे पनि अबदेखि बैंक तथा बित्तीय संस्था खोल्नुपर्ने नियम समेत लागू गरेको छ।

२०७४ असोज १ गते अर्थमन्त्रालयमा सम्पन्न बैठकले यसअघि नै महिनाको अन्तिम दिन शनिवार वा सार्वजनिक विदा परे राजश्व संकलन गर्न बैंक तथा  बित्तीय संस्था र नेपाल क्लियरिंग हाउस खोल्नुपर्ने निर्णय गरिसकेको छ ।