काठमाण्डौ । सरकारले असोज १ गतेदेखि नै लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक हवाई उडान खुलाउने भएको छ । 

हिजो बसेको मन्त्रीपरिषदको बैठकमा सहभागी केही मन्त्रीहरुले असोज ५ गतेदेखि नै लामो दूरीको यातायात र आन्तरिक उडान खुलाउने निर्णय गरेको भनिए पनि त्यो गलत रहेको पाइएको हो । 

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज ५ गते नभई असोज १ गतेदेखि लामो दूरीका यातायात र आन्तरिक उडान खुल्ला गर्ने निर्णय भएको जानकारी दिए । 

यातायातका साधन र आन्तरिक उडान भर्ने हवाईजहाजहरुले सिट क्षमताभन्दा आधा मात्र यात्रु बोक्ने पाइनेछ । सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ भने चालक दलका सदस्यहरुले मास्क, भाइजर, पञ्जा अनिवार्य लगाउनुपर्नेछ । गाडी तथा प्लेनमा अनिवार्य स्यानिटाइजरको व्यवस्था गरिनुपर्ने, बेला बेला गाडी तथा जहाज डिसइन्फेक्सन गर्नुपर्ने लगायतका मापदण्ड समेत तोकिएको छ । 

लामो दूरीका यातायातका साधन र जहाजले साबिकको तुलनामा भाडादरमा ५० प्रतिशतले वृद्धि गर्न पाउनेछन् ।