काठमाण्डौ । साहारा विकास बैंकले आफ्ना सेयरधनीलाई १५० प्रतिशत हकप्रद दिने घोषणा गरेको छ । 
आगामी असोज १४ गतेबाट यो बैंकका सेयरधनीले घोषित हकप्रदका लागि आवेदन दिन सक्ने बताइएको छ । 

आइतबार एक सूचना प्रकाशित गर्दै यो विकास बैंकले १४ गतेबाट सुरु भएको हकप्रदका लागि आवेदन भर्न पाउने समय कात्तिक १८ गतेसम्म रहनेछ । 

साहारा विकास बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ३ लाख ५४ हजार कित्ता हकप्रद निश्कासन गर्न लागेको हो । 

बैंकले हकप्रदका लागि बुक क्लोजको मिति भदौ २२ गते तोकेको थियो । भदौं २१ गतेसम्म यो बैंकको सेयर खरीद गरेका र आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र घोषित हकप्रदका लागि आवेदन दिन पाउने बताइएको छ । 

ग्लोबल आइएमई क्यापिटल लिमीटेड हकप्रदको  निश्कासन र व्यवस्थापनका लागि बिक्री प्रबन्धकको काम गर्नेछ । 

जमलस्थित ग्लोब आइएमई क्यापिटलको मुख्य कार्यालय, साहारा विकास बैंकको मुख्य तथा शाखा कार्यालयहरुबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ । 

सहारा विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासमा १ करोड खूद नाफा आर्जन गरेको थियो । यो बैंकको चुक्तापूँजी २ करोड ३६ लाख रुपैयाँ रहेको छ । १५० प्रतिशत हकप्रद निश्कासनपछि बैंकको चुक्तापूँजी ५ करोड ९० लाख पुग्नेछ । यसको अधिकृत पूँजी १० करोड रुपैयाँ रहेको छ । मई १७, २०१६ को मितिमा यो बैंकको अन्तिम सेयर कारोबार मूल्य प्रति कित्ता १२७९ रुपैयाँ रहेको छ ।