काठमाण्डौ । प्रत्येक वर्ष झै यो पटकको दशैंलाई लक्षित गरी नेपाल राष्ट्रबैंकले आगामी असोज २१ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरणको व्यवस्था मिलाएको छ । 

बैंक तथा बित्तीय संस्थाहरुलाई भने असोज ११ गतेदेखि नै नयाँ नोट उपलब्ध गराइनेछ । 

नेपाल राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभागका एक अधिकारीका अनुसार गत वर्ष झै मुख्य रुपमा तीनवटा सरकारी बैंकः कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकलाई नोट सटहीको जिम्मा दिइएको छ । तर, निजी क्षेत्रका बैंक तथा बित्तीय संस्थाहरुले समेत आफ्ना ग्राहकलाई नोट सटही गरिदिन सक्नेछन्, उनीहरुलाई भने निकै न्यून परिमाणको नोट मात्र उपलब्ध गराउने केन्द्रीय बैंकको तयारी छ । 

केन्द्रीय बैंकले यो पटक पनि सटहीका लागि ५, १०, २०, ५० र १०० का १३ अर्ब बढीको नयाँ नोट तयार गरेको छ । पेमेन्टको रुपमा समेत निकै ठूलो परिमाणमा नयाँ नोट खपत हुन्छ । यसका लागि ५०० र रु. १००० दरका करिब ५० अर्ब बराबरको नयाँ नोट सटही हुने राष्ट्रबैंकको अनुमान छ । 

नोट सटहीको सुविधा नेपाल राष्ट्रबैंकको काठमाण्डौस्थित बैंकिङ कार्यालयबाट समेत पाइनेछ । केन्द्रीय बैंकमा गएर नयाँ नोट साट्दा २७ हजार रुपैयाँसम्मको सुविधा पाइनेछ भने अन्य तीन सरकारी बैंकबाट भने २० हजार रुपैयाँसम्मको नोट साट्न पाइनेछ । राष्ट्रबैंकका क्षेत्रीय कार्यालयबाट समेत सर्वसाधारणले नोट सटहीको सुविधा पाउनेछन् ।  

नेपाल राष्ट्रबैंकको निर्देशनअनुसार नेपाल बैंकले काठमाडौंको न्यूरोडस्थित बैंकिङ अफिस, बालाजू, पाटन, किर्तिपुर, भक्तपुर लगायतका शाखाबाट सटहीको सुविधा उपलब्ध गराउनेछ भने कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधा पाइनेछ । 

राष्ट्रिय वाणिज्य बैंकको भने भद्रकाली, नयाँ बानेश्वर, नक्साल, विशालबजार, टेकु, सानोठिमी शाखाबाट समेत सटही सुविधा उपलब्ध गराइनेछ ।