काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले यही असोज २८ गते बुधबार काठमाण्डौको नागार्जुनस्थित रानीबन पार्टी प्यालेस एन्ड रेस्टुरेन्टमा सभा डोकेको हो। 

सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित लाभांश पारित गर्नेछ। संस्था आर्थिक वर्ष २०७५/७६ का लागि चुक्तापुँजी ३६ करोड८० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख रुपैयाँबराबरको बोनस सेयर र ०.५२ प्रतिशतले हुन आउने १९ लाख ३६ हजार ८४२.११ रुपैयाँ नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ।

बोनस सेय जारी गरेपछि संस्थाको अधिकृत पुँजी ६४ करोड रुपैयाँ, जारी पुँजी ४० करोड ४८ लाख रुपैयाँ र चुक्तापुँजी ४० करोड ४८ लाख रुपैयाँ हुने भएकोले सोहीअनुसार पुँजी संरचनामा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

यसैगरी संस्थाको सेयर संचरना ७०ः३० लाई परिवर्तन गरी ५१ः४९ गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

यही सभामार्फत संस्थाले अन्य वित्तीय संस्थासँग मर्जरको ढोका पनि खुला गर्नेछ। यसका लागि सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय भने सभाले गर्नेछ। 

सभा प्रयोजनार्थ संस्थाले यही असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १३ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।