काठमाण्डौ । बजारले उछालको गति लिएको भोलिपल्टै दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १४.२४ अंकले घट्दै १६२३.१३ अंकमा झरेको हो । 

नेप्से परिसूचकसँगै बजारमा कारोबार रकम पनि घटेको छ । यसरी बजारमा कारोबार रकम र परिसूचक एकसाथ घट्नुुलाई राम्रो मानिदैन । यो क्रम केही दिन निरन्तर रहे यसले बजारमा बियरिस ट्रेण्ड ल्याउनसक्ने विश्लेषक बताउँछन् । उनीहरुका अनुसार उतारचढावपूर्ण बजारमा निकै सचेत भएर लगानीकर्ताले निर्णय लिनुुपर्छ । हल्लाको पछि लागेर सेयर बिक्री वा खरीदको निर्णय लिंदा यस्तै बजारमा लगानीकर्ता डूूब्ने संभावना अधिक हुने उनीहरु बताउँछन् । 

बुधबार उत्पादनमूलक बाहेकका सबै समूहमा रातो पोतिएको छ । उत्पादनमूलक चाहि ९.६९ अंकले बढेको छ । वाणिज्य बैंक, बिमा र विकास बैंक समूहमा क्रमशः १२.८४, ११५.७८ र १८.२७ अंकको गिरावट देखियो । यस्तै, होटल समूह ४०.३२, जलविद्युत समूह १९.१५, बित्त समूह १.९५ र अन्य समूह ०.२९ अंकले घटे । 

‘क’ वर्गका कम्पनीप्रतिको आकर्षण घट्दा सेन्सेटिभ इण्डेक्स २.८८ अंकले घटेको छ भने समग्र कारोबार पनि खुम्चिँदा फ्लोट इण्डेक्समा १.२७ अंकको गिरावट देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार १ सय ४९ कम्पनीका १२ लाख ७९ हजार ५ सय ७ कित्ता सेयर कुल ७६ करोड ४७ लाख ३६ हजार ८ सय ११ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९ करोड ४१ लाख बढीको कारोबार गर्यो । यस्तै, सनराइज बैंकले ४ करोड ६३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ४ लाख, एभरेष्ट बैंकले १ करोड ८३ लाख, सिद्धार्थ इन्स्योरेन्सले १ करोड ८० लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ७७ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक र ४ स्थान बिमा कम्पनीले ओगटे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजार दोहोरो अंकले घटे पनि २ कम्पनीका लगानीकर्ता मालामाल भए । आरएसडिसी लघुवित्त बित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढ्यो भने वल्र्ड मर्चेन्ट बैकिंग एण्ड फाइनान्सको सेयर मूल्य पनि ९.७१ प्रतिशतले बढ्यो । मिथिला लघुवित्त विकास बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ७ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

बुधबार विजय लघुवित्त बित्तीय संस्था र सगरमाथा इन्स्योरेन्सको मूल्य धेरै घट्यो । यी कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्न पुुग्यो । मितेरी डेभलपमेन्ट बैंकको मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।