काठमाण्डौ । सन् २००६ मार्च १३ त्यही दिन हो, जुन दिन अनिल अम्बानीको टेलिकम कम्पनीमा ठूलो मर्जर भएको थियो । त्यसदिनको बोर्ड बैठकमा रिलायन्स इन्फोकमलाई रिलायन्स कम्युनिकेसन भेन्चर लिमिटेडमा मर्जर हुने तय गरिएको थियो । जसका कारण रिलायन्स कम्युनिकेसन भेञ्चर लिमिटेडको सेयर मूल्य ६७ प्रतिशत बढेको थियो । यसको नतिजा यो भयो कि त्यो दिन अनिल अम्बानीको नेटवर्थ ४५ हजार करोड भारतीय रुपैयाँ पुग्यो । जब कि त्यसबेला जेठा दाजु मुकेश अम्बानीको नेटवर्थ ३७ हजार ८२५ करोड थियो । त्यतिबेला नेटवर्थको मामिलामा भाइले दाइलाई उछिनेका थिए । जब कि एक साता पहिले नै फोब्र्सको सूचि सार्वजनिक भएको थियो । जसमा मुकेश अम्बानी अनिल अम्बानी भन्दा अघि थिए । फोब्र्सका अनुसार मार्च २००६ मा मुकेश अम्बानीको नेटवर्थ ८.५ अर्ब डलर थियो भने अनिल अम्बानीको ५.७ अर्ब डलर थियो । 

आजभोलि यी दुई भाइ चर्चामा छन् । केही दिनअघि नै भारतमा राफेल फाइटर जेट भित्रिएका छन् । यि राफेल जेटलाई फ्रान्सको डसल्ट एभियसनले तयार गरेको हो । राफेल सम्झौतामा अनिल अम्बानीको रिलायन्स डिफेन्स अफसेट साझेदार छ । यस्तै उनका दाई मुकेश अम्बानी विश्वकै पाँचौ धनाढ्य बनेका छन् । 

दुईभाई अलग हुँदा दुवैको नेटवर्थ ७ अर्ब डलर 
मुकेश अम्बानी सन् १९८१ देखि र अनिल अम्बानी सन् १९८३ देखि रिलायन्ससँग जोडिएका थिए । जुलाई २००२ मा धिरुभाई अम्बानीको निधन पश्चात मुकेश अम्बानी रिलायन्स गुप्रको अध्यक्ष बनेका थिए भने अनिल म्यानेजिङ डाइरेक्टर । सन् २००४ नोभेम्बरमा मुकेश र अनिलको झगडा पहिलोपटक देखिएको थियो । जुन २००५ मा दुवै भाइबीच विभाजन भएको थियो । 

मार्च २००५ मा मुकेश र अनिलको संयुक्त नेटवर्थ ७ अर्ब डलर थियो । त्यसअघि सन् २००४ मा दुवैको संयुक्त नेटवर्थ २.८ अर्ब डलर थियो । अर्थात कारोबार सम्हालेको दुई वर्षमा नै मुकेश र अनिलको नेटवर्थ अढाई गुणा बढेको थियो । मुकेश र अनिलको नेटवर्थ त्यसबेला बढेको थियो, जब लगातार दुई वर्ष देखि धीरुभाई अम्बानीको नेटवर्थम गिरावट आइरहेको थियो । सन् २००० मा धीरुभाईको नेटवर्थ ६.६ अर्ब डलर थियो । जुन सन् २००२ मा घटेर २.९ अर्ब डलर पुगेको थियो । 

विभाजनको १५ वर्ष पछि मुकेश अम्बानीको नेटवर्थ ९ गुणा बढ्यो 
सन् २००५ मा दुइभाइका बिच विभाजन त भयो तर कुन भाइलाई कुन कम्पनी दिने भन्ने २००६ मा मात्रै निर्धारण गरियो । विभाजनपछि मुकेश अम्बानीको भागमा पेट्रो केमिकलको कारोबार रिलायन्स इन्डस्ट्रीज, इन्डीयन पेट्रो केमिकल्स कर्प लिमिटेड, रिलायन्स पेट्रोलियम, रिलायन्स इन्डस्ट्रीयल इन्फ्रास्ट्रक्चर लिमिटेडजस्ता कम्पनीहरु परेका थिए । कान्छा भाई अनिल अम्बानीले अनिल धीरुभाई अम्बानी गुप्र बनाए । यसमा आरकम, रिलायन्स क्यापिटल, रिलायन्स एनर्जी, रिलायन्स नेचुरल रिसोर्सेस जस्ता कम्पनीहरु थिए । रिलायन्स गुप्रको विभाजन हुनुभन्दा अघि सन् २००५ मार्चमा मुकेश र अनिलको संयुक्त नेटवर्थ ७ अर्ब डलर थियो । त्यसपछि २००६ देखि २००८ सम्म दुवै भाइको नेटवर्थमा धेरै अन्तर थिएन । तर सन् २००९ मा आर्थिक मन्दी आयो । विश्वभरका धनाढ्यहरुको सम्पत्तिमा गिरावट आयो । मुकेश र अनिलको अम्बानीको सम्पत्तिमा पनि ठूलो अन्तरको भिन्नता यहीँबाट देखिन थाल्यो । 

एकातर्फ अरबपतिको सूचिमा अनिलको श्रेणी घट्दै गयो भने अर्काेतर्फ मुकेशको श्रेणी बढ्दै गयो । धनाढ्यको सूचिमा सन् २००८ मा मुकेश पाँचौं र अनिल छैठौँ स्थानमा थिए । तर यतिबेला अनिल अम्बानी अरबपतिको सूचिबाट बाहिर नै भइसकेका छन् । सन् २००६ देखि लिएर अहिलेसम्म मुकेश अम्बानीको नेटवर्थमा ९ गुणा वृद्धि भएको छ । जबकि फेबु्रअरी २०२० मा बेलायतको एक अदालतमा अनिलले आफ्नो नेटवर्थ शून्य भएको र आफू टाट पल्टिएको बताइसकेका छन् ।  

मुकेश अम्बानी टेलिकम क्षेत्रमा आउँदा सबैभन्दा धेरै नोक्सान कान्छा भाईलाई 
सन् २००२ मा दुवै अम्बानी भाई सँगै एकसाथ थिए र धीरुभाइ पनि संगै थिए । त्यतिबेला रिलायन्स गुप्रले रिलायन्स इन्फोकमबाट टेलिकम उद्योगमा पाइला टेकेको थियो । त्यतिबेला फोनमा कुरा गर्न महङ्गो पर्ने गर्दथ्यो । त्यतिबेला रिलायन्सले सस्तो मूल्यमा ग्राहकहरुलाई भ्वाइस कलिङको सुविधा दिएको थियो । कम्पनीको त्यतिबेलाको नारा “दुनियाँलाई मुठ्ठीमा पार्नुस” भन्ने थियो । 

तर धीरुभाइको निधनपछि रिलायन्स इन्फोकम कान्छा भाई अनिल अम्बानीको भागमा पर्न गयो । यो त्यो समय थियो जब मोबाइल फोनको बजार तीव्र गतिमा बढिरहेको थियो । तथापि दुई भाईबीच एउटा सम्झौता भएको थियो र त्यो सम्झौता यस्तो थियो कि मुकेश यस्तो कुनै पनि व्यापार सुरु गर्ने छैनन्, जसले अनिललाई नोक्सान पुर्याओस । सन् २०१० मा यो सम्झौता पनि तोडियो । सन् २०१० मा रिलायन्स इन्डस्ट्रीजले ४८०० करोड रुपैयाँको इन्फोटेल ब्रोडब्याण्ड सर्भिस लिमिटेड(आईबीएसएल) को ९५ प्रतिशत स्वामित्व खरीद गर्यो । आइबीएसएल भारतको पहिलो र एउटा मात्रै यस्तो कम्पनी थियो जसले भारतको सबै २२ वटा जोनमा फोरजि ब्रोडब्याण्ड स्पेक्ट्रम फैलाएको थियो । पछि यसको नाम नै रिलायन्स जियो रहन गयो । 

सन् २०१६ सेप्टेम्बरमा मुकेश अम्बानीले रिलायन्स जियो लञ्च गरे । कम्पनीले सुरुवाती ६ महिनासम्म फोरजि डेटा र भ्वाइस कल निशुल्क गरेको थियो ।

यसको परिणाम यो भयो कि रिलायन्स जियो तीव्र गतिमा बढ्न थाल्यो । टेलिकम रेगुलेटरी अथोरेटि अफ इण्डियाका अनुसार सन् २०१६ सेप्टेम्बरमा जियोसँग १.५ करोड भन्दा धेरै ग्राहक जोडिएका थिए । यो बेलासम्म कान्छा भाई अनिलको रिलायन्स इन्फोकम कम्पनीको मार्केट सेयर पनि ८ प्रतिशतभन्दा धेरै थियो । समय बित्दै जाँदा मूल्ययुद्धका कारण अनिल अम्बानीको कम्पनीका ग्राहकहरु घट्दै गए भने मुकेश अम्बानीको कम्पनीका ग्राहकहरु बढ्दै गए । अप्रिल २०२० सम्म जियोसँग ३८ करोडभन्दा धेरै ग्राहकहरु छन् । जब कि रिलायन्सका ग्राहकहरुको संख्या अहिले १८ हजार पनि छैनन् । 

मुकेश अगाडि बढ्दै गए, अनिल ऋणि डूब्दै
सन् २००९ मा आर्थिक मन्दी आउँदा विश्वभरका धनाढ्यहरुलाई धेरै नोक्सान भएको थियो । मुकेश र अनिलको सम्पत्तिमा पनि भारी गिरावट आएको थियो । यो मन्दीको चपेटाबाट दाजु मुकेश अम्बानी त निक्लदै गए, तर अनिल भने फस्दै गए । एकातर्फ दाईको कारोबार वृद्धि भइरहेको थियो भने अर्काेतर्फ भाइ चाहि ऋणको दलदलमा फस्दै थिए । 

आज अवस्था यतिसम्म पुगिसक्यो कि अनिल अम्बानी टाट पल्टने अवस्थामा पुगिसके । अर्काे तर्फ मुकेश अम्बानीले आफ्नो कम्पनी रिलायन्स इन्डस्ट्रीजलाई ऋणमुक्त गराइसकेका छन् । ३१ मार्च २०२० सम्म रिलायन्स इन्डस्ट्रीजमाथि १.६१ लाख करोड भन्दा धेरै ऋण थियो । तर अहिले उनको कम्पनीलाई कुनै पनि ऋण छैन । जबकि अनिल अम्बानी माथि १ लाख करोडभन्दा धेरै ऋणको भारी छ । 

त्यस्तै मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीजको कम्पनीहरुको बजार पूँजीकरण १२ लाख करोड भारतीय रुपैयाँभन्दा धेरै पुगिसकेको छ  । दोस्रोतर्फ अनिल अम्बानीको कम्पनीहरुको बजार पूँजीकरण २ हजार करोड भारतीय रुपैयाँ भन्दा पनि कम भएको छ । रिपोर्टका अनुसार फेब्रुअरी २०२० सम्म अनिल अम्बानीका कम्पनीहरुको बजार पूँजीकरण १६४५.६५ करोड भारतीय रुपैयाँ थियो ।    

(एजेन्सीको सहयोगमा धर्म मलाशीको भावानुवाद)