►कृष्णराज लामिछाने
नेपालको सेयरबजार यथार्थमा भन्दा पनि हौवाको भरमा चलिरहेको छ । हल्लै हल्लामा कहिले म्यासिभ रुपमा बढेको हुन्छ, कुनै बेला डरलाग्दो गरी घटिरहेको हुन्छ । तर, अहिलेको अवस्थामा सेयर बजार घट्नुपर्ने कुनै कारण नै छैन । जुन बैंक तथा बित्तीय संस्थाले २०–२५ प्रतिशत लाभांश दिने क्षमता राख्छन्, तिनीहरुको सेयर मूल्य नै ३०० रुपैयाँ भन्दा तल आइसक्यो । यो त अचम्म भइरहेको छ बजारमा । यस्तो त हुनै नसक्ने कुरा हो । 

हल्ला आयो–बामपन्थीको सरकार बन्ने बित्तिकै सेयर बजार खस्किन्छ रे । कतिपयले यही डरले सेयर बेचे, बाठाले यही बेला सेयर किने । यस्ता कुरा सबै बेकारका हुन् भनेर लगानीकर्ता प्रष्ट हुनुपर्छ ।

अहिलेको संविधान अनुसार सरकार बन्ने हो, संविधानमा आर्थिक स्वतन्त्रता हुनेछ भनेर बकाइदा लेखिएको छ । आफ्नो व्यवसाय गर्न पाइन्छ । कुनै पनि पार्टीले निरकुंशता लाद्ने भनेका छैनन् । तात्विक रुपमा नेपालमा भएका पार्टीबीचमा त्यत्रो ठूलो फरक पनि छैन । संविधानले प्रष्ट रुपमा व्यापार व्यवसाय गर्ने, धनसम्पत्ति आर्जन गर्ने स्वतन्त्रता प्रदान गरेको छ । बिक्री खरीदमा समेत उस्तै स्वतन्त्रता दिएको छ । बामपन्थीको सरकार आए यस्तो हुन्छ, कांग्रेसको सरकार आए उस्तो हुन्छ भन्ने कुरा वाहियात तर्क हो । यस्ता हल्लाहरुको पछाडि लागेर बजारमा खरीदबिक्रीको हतारो गर्नेहरु डूूब्ने निश्चित देख्छु म ।

मेरो विचारमा सेयर बजार बढ्नुपर्ने अवस्था हो । अहिले नेपालका राजनीतिक दलहरु बामपन्थी र लोकतान्त्रिक गठबन्धनमा ध्रुवीकृत छन् ।

लोकतान्त्रिकले जित्न पनि सक्छ, बामपन्थीले पनि जित्न सक्छ । जसले जिते पनि स्थायी सरकार हुन्छ । दिगो भएर अबको पाँच वर्षमा नेपालको आर्थिक गतिविधि व्यापक बन्नेछ । यहाँको आर्थिक परिदृश्य नै फरक हुन्छ, आर्थिक गतिविधि अझ बढ्छ । यस्तो स्वर्णिम युुगको पूर्वसन्ध्यामा सेयर बजार त उल्टो बढ्नुपर्ने हो । नेपालमा अन्यौलको अवस्था छैन, सही ट्रयाकमा आउँदैछ मुलुक । यो अवस्थामा चुनाव भइसकेपछि स्थिर सरकार बन्छ, त्यसपछि आर्थिक क्रियाकलापले प्रोत्साहन पाउँछ, मजबुत बन्छ भनेर बढ्नुपर्ने ठाउँमा घटिरहेको छ । 

अहिलेको बजार बुझिनसक्नुु बनाइएको छ । बजार घट्नुपर्ने कुनै कारण नै छैन । 

गएको महिनादेखि देश बचतमा छ । ३ प्रतिशतको आसपासमामा मुद्रास्फिति छ । बैंकहरुले पनि राम्रो गरेका छन् । सरकारले पोहोर सालसम्म खर्बौ रुपैयाँ ढुकुटीमा थन्काउथ्यो, अहिले त्यस्तो अवस्था छैन, सबै ग्रास रुटमा बाँडेको छ । रिसोर्सको कमी छैन । आज भन्दा पहिला कति द्वन्द्व हुन्थ्यो, उद्योगमा कति धेरै हड्तालहरु हुन्थे ! अहिले आनन्द छ, यति राम्रोे बेलामा पनि सेयर बजार घट्दा म आश्चर्यमा पर्छु ।

खेल्न सक्छन्
कसैलाई दोष त दिन चाहँन्न । तर, बजारमा खेल्नेहरुको कमी छैन । अरुले खेले भन्दैमा लगानीकर्ता उनीहरुको गेममा खेलिन भएन । केही मान्छेहरुलाई अत्याएर बिक्री र खरीदको  निर्णय गराउनसक्ने गिरोह यस्तो बेलामा सक्रिय हुनसक्छन् । यहाँको सेयर बजारमा निकै ठूला खेलाडी छन् । त्यसतर्फ म जान चाहँन्न । तर, हावाको पछि कुद्न भएन । बरु कुनै पनि सूचिकृत कम्पनीको विगतको अवस्था के छ, कसले चलाइरहेको छ, रिटर्न कति दिइरहेको छ, यसको साइज कत्रो छ भनेर विश्लेषण गरेर लगानीको निर्णय लिनुपर्छ । तर, ठीक उल्टो बढ्न थालेपछि किन्ने, घट्न थालेपछि बिक्री गर्ने गलत प्रवृति लगानीकर्तामा हाबी देख्छुु । धैर्य गर्न जान्नुपर्छ लगानीकर्ताले । बैंकहरुको रिटर्न नराम्रो छैन । बिमा कम्पनीहरुको कुरा गर्ने हो भने भर्जिन मार्केट छ नेपालमा । देशको कुल जनसंख्याको १० प्रतिशतसम्म पनि बिमाको व्यवसाय बिस्तार हुन सकेको छैन । यसको अर्थ बिमा कम्पनीहरुमा समेत अथाहा संभावना देखिन्छ । 

बन्दहड्ताल छैन, आर्थिक स्थिरता भइरहेको छ, मजबुत सरकार आउने संभावना छ । दुवै गठबन्धनको आर्थिक नीति प्रष्ट छ । लोडसेडिङ छैन । युनियनहरुको गतिविधि छैन, खुलेआम व्यापार व्यवसाय भएको छ । असुरक्षा छैन । यसरी माओवादी द्वन्द्वको बेला त नघटेको सेयर बजार यति राम्रो अवस्थामा कसरी तल झर्छ ? किन झरिरहेको छ ? अचम्म भइरहेको छ हाम्रो बजारमा । 

तर, भविष्य उज्वल
सेयर बजारको भविष्य उज्वल देख्छुु । भारतमै हेर्नुहोस्, त्यहाँको परिसूचक ३३ हजार पुगिसक्यो । नरेन्द्र मोदी सत्तामा आउनुुअघि २७ हजार आसपासमा थियो । हेरिराख्नुुहोला अबको चुनावपछि नेपालमा यति ठूलो लगानीको वातावरण बन्छ नि, त्यसले निकै ठूलो कायापलट गरिदिनेछ । तसर्थ, बजारका लगानीकर्ता बिल्कुल आत्तिनुपर्ने अवस्था होइन । निर्वाचनलगत्तै नयाँ सरकार बनिसकेपछि सेयर बजार बुम हुन थाल्छ । 

(महालक्ष्मी बैंकका सीइओ तथा विश्लेषक लामिछानेसँगको कुराकानीमा आधारित)