काठमाण्डौ । पछिल्लो दुई वर्षदेखि सेयरधनीलाई दिने लाभांशमा बढोत्तरी गर्ने सफलता पाउँदै आएको कृषि विकास बैंक लिमीटेडले आगामी वर्ष समेत सो स्तरको लाभांश नघट्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेको छ । 

बैंकको ५३ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा आइतबार काठमाण्डौ एक पत्रकार सम्मेलनको आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले त्यस्तो प्रतिबद्धतना जनाएका हुन् । 

यो बैंकले विगतका वर्षहरुमा १५ प्रतिशतको हाराहारीमा लाभांश वितरण गर्दै आएको थियो । गत वर्ष भने त्यो बढेर २१.०५ प्रतिशत पुगेको थियो ।

यस्तै, २०७५ ७६ का लागि ३० प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले सेयरधनीलाई दिने प्रतिफलमा भइरहेको यो बढोत्तरीलाई आगामी वर्ष समेत निरन्तरता दिइने प्रतिबद्धता जनाएको हो । ‘आगामी वर्षहरुमा यस वृद्धिको उत्साहलाई निरन्तरता दिने कुरामा विश्वास दिलाउन चाहन्छौं ।’ प्रमुख कार्यकारी अधिकृत उपाध्यायले पत्रकार सम्मेलनमा व्यक्त लिखित मन्तव्यमा भनेका छन् । 

सो अवसरमा बैंकले गत १ वर्षको अवधिमा सहुलियतपूर्ण कृषि अनुदान कर्जामा करिब २५०० भन्दा बढी संख्याका परियोजना प्रस्ताव स्वीकृत गरी ५ अर्ब ५८ करोड रकम लगानी गरेको तथा यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि बैंकले प्रदेश कृषि मन्त्रालय, ग्रामीण पद्धति केन्द्र (महिला ५००, ८ जिल्लामा), ७ जिल्लामा हेफर इन्टरनेशनल, किसान महासंघ, युवा परिषद् आदिसँग सहकार्य गरी लक्षित वर्गमा कर्जा तथा बैकिङ्ग सेवाको विस्तार गरिरहेको बताइएको छ । यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी करिब १ हजार होमस्टे आबद्ध भएको होमस्टे एशोशिएसन नेपाल सँग सम्झौता गरी उक्त क्षेत्रमा सरल होमस्टे कर्जा प्रवाह गर्ने कार्यक्रम समेत तय गरिएको उपाध्यायले बताएका छन् । 

बैंकले पछिल्लो समय साना तथा मझौला खालका कर्जामा फोकस राखेको समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सीइओ उपाध्यायका अनुसार यो बैंकको १ करोडभन्दा माथिको कर्जाको भार कूल कर्जामा १ प्रतिशतभन्दा न्यून छ । १० लाखभन्दा कम कर्जाको भार ८४ प्रतिशत रहेको र यी सबैजसो कर्जा ग्रामीण भेगका कृषक, मजदुर र साना तथा मझौला कर्जाका रुपमा रहेका छन् । 

यो बैंकले नेपाल सरकारले आह्वान गरेको “सबै नेपालीको बचत खाता” खोलौं बैंक खाता अन्तर्गत ५२ हजारभन्दा बढी जनताको खाता खोल्न सफल भएको दाबी गरेको छ । 

हाल यो बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशतको शेयर हिस्सा रहेको छ । बैंकले हाल आफ्नो वृहत सञ्जालमार्फत प्रदेश र तालिम केन्द्र मार्फत करिब १२ लाख निक्षेपग्राही, करिब १ लाख ४५ हजार कर्जाग्राही, ६ हजारलाई इन्टरनेट सेवासहित सम्पूर्ण बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको छ । साथै करिब २ लाख ६२ हजारलाई मोबाइल बैकिङ सेवा, एप्स, करिब ८१ हजारलाई भिसा डेबिट कार्डको सेवा समेत प्रवाह गरिरहेको छ । 

बैंकले निकट भविष्यमै ७ वर्षे अवधिको १०.३५ प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र १००० अंकित मूल्यमा २५ लाख कित्ताले हुन आउने रु. २ अर्ब ५० करोड बराबरको 'एडीबिएल कृषि बैंक ऋणपत्र-२०८३' निश्कासन गर्न लागेको समेत सो क्रममा जानकारी दिइएको छ ।