काठमाण्डौ । अमेरिकी डलरको तुलनामा टर्कीको मुद्रा लिराको अवस्था बेहाल बन्दै गएको छ । सन् २०१८ मा मात्रै डलरको तुलनामा लिराको ७० प्रतिशतले अवमूल्यन भइसकेको छ । डलरसँगको तीव्र अवमूल्यनसँगै टर्कीको मुद्रा लिरा विश्वकै कमजोर मुद्राको सूचिमा दर्ज हुन पुगेको छ । गत हप्ता मात्र लिरामा २० प्रतिशतको गिरावट आएको थियो र अझै पनि यसको गिरावट थामिने कुनै संभावना वा संकेत देखिएको छैन । 

लिरा मात्र होइन, डलरको तुलनामा भारतीय रुपैयाँ समेत लगातार कमजोर बनिरहेको छ । भारतीय मुद्रासँग स्थिर विनिमय दर भएका कारण भारुसँगै नेपाली रुपैयाँ समेत तीव्र अवमूल्यनमा परिरहेको छ । दैनिकजसो डलरसँग भारु र नेपाली मुद्राको अवमूल्यन बढिरहेको छ । 

जानकारकाअनुसार यूरोप र एशियाका कैयन देशका मुद्राहरुमा दवाब परेको मुख्य कारण लिराकै तीव्र गिरावट हो । तर, यस्तो किन भइरहेको छ त ?
यो प्रश्नको उत्तर पाउनका लागि पहिला टर्कीको संकटको बिषयमा बुझ्नुपर्छ र त्यसपछि यसले अन्य देशमा कसरी असर पारिरहेको छ भन्ने कुरा बुझ्न आवश्यक छ ।

बीबीसीका अनुसार केही समयअघिसम्म विश्वका आर्थिक शक्तिहरुमध्ये टर्कीको भारत र चीनकै हाराहारीमा नाम आउथ्यो वा त्यो स्थानमा थियो । अर्थात, टर्की, भारत र चीन नै उदाउँदो अर्थतन्त्र भएका मुलुकहरु थिए । यी ३ देशको ग्रोथ विश्वका अन्य देशको तुलनामा उत्साहप्रद नै थियो । 

सन् २००८ को आर्थिक संकटपछि  अमेरिका समेत विश्वका तमाम विकसित देशहरुले ग्रोथ हासिल गर्नका लागि ब्याजदर घटाए, ताकि उद्योगलाई सस्तो कर्जा प्राप्त हुन सकोस् । टर्कीले सोबेला यो माहौलबाट निकै धेरै फाइदा लुट्यो र त्यहाँका कम्पनीहरुले यूरोपका कैयन देशबाट सस्तो कर्जा ल्याए । यसकै जोडबलमा त्यहाँको रियल इस्टेटको कारोबार र म्यानुफ्याक्चरिंग सेक्टरले रफ्तार प्राप्त गर्यो । 

टर्कीका बैंकहरु त्यसबेला विदेशी बैंकहरुबाट डलरमा कर्जा ल्याइरहेका थिए र त्यसलाई घरेलु अर्थव्यवस्थामा प्रयोग गरिरहेका थिए । कर्जादाता बैंक समेत त्यसबेला खुशी नै थिए, किनभने जुन हिसाबले टर्कीका कम्पनीहरुले आफ्नो आम्दानी तथा मुनाफाको ग्राफ देखाइरहेका थिए, त्यसबाट उनीहरु आश्वस्त थिए कि उनीहरुको पैसा सुरक्षित छ र कर्जा डूब्ने आशंका समेत कतै देखिदैन थियो । 

न्यूयोर्क टाइम्सको एक रिपोर्टअनुसार भारत तथा चीनको तुलनामा टर्की विदेशी मुद्राको कर्जामा अधिक निर्भर थियो र यही कारण उसको वर्तमान संकटको मुख्य कारण बनेर आएको छ । टर्कीको अर्थव्यवस्थामा विदेशी मुद्राका निकै ठूलो दबदबा छ र कुल कर्जाको ७० प्रतिशत भन्दा बढी हिस्सा डलरमै भित्र्याइएको कर्जा रहेको छ । 

बैंक अफ इन्टरनेशनल सेटलमेन्ट(बीआईएस)का अनुसार टर्कीको मुद्रामा भारी गिरावटपछि यूरोपीय बैंकहरु निकै ठूलो मुश्किलको सामना गरिरहेका छन् । स्पेनको बैंकले मात्र टर्कीलाई ८३ अर्ब डलर भन्दा बढीको कर्जा दिएको छ भने फ्रान्सका बैंकहरुले ३४.४ अर्ब डलर बराबरको ऋण दिएका छन् । इटलीका बैंकहरुले १७ अर्ब डलर र जापानका बैंकहरुले १४ अर्ब डलर कर्जा टर्कीको अर्थव्यवस्थामा लगाएका छन् । 

ब्रिटेनले समेत टर्कीलाई १९ अर्ब डलरको कर्जा दिएको समाचारमा जनाइएको छ । यस्तै, टर्कीलाई संकटमा फसाउने देश अमेरिकाका बैंकहरुले समेत १८ अर्ब डलर टर्कीमा लगानी गरेका छन् । तर, अमेरिकी बैंकहरुले भने टर्कीमा कर्जाको रुपमा नभई त्यहाँको सेयर बजारमा लगानी गरेका हुन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले टर्कीबाट आयात हुने एल्मुनियम तथा स्टीलको आयात शुल्क बढाएर दोब्बर गरिदिएका छन् । टर्कीको मुद्रा लीरामा जारी गिरावटलाई टम्पको यो निर्णयले अर्को ठूलो धक्का लाग्नसक्ने आँकलन गर्न थालिएको छ । 

अब टर्कीको साथमा लिरालाई सम्हाल्ने विकल्प समेत केही मात्र बाँकी छन् । त्यहाँको अर्थव्यवस्थामा आएको मन्दीबाट महङ्गी अझै बढ्ने त्रास फैलिएको छ, यहाँ अहिलकै अवस्थामा समेत मुद्रास्फिति दर १५ प्रतिशत भन्दा माथि छ । टर्कीका राष्टपति रेचेप तैयप अर्दोयानले लिरालाई अझै अवमूल्यन हुन नदिन ब्याजदर बढाउन सक्नेछन्, जसबाट महङ्गी अझै बढ्नेछ । यहाँको महंगी दरको यो आँकडा कति धेरै अत्यासलाग्दो छ भन्ने कुराको आँकलन गर्नका लागि टर्कीका छिमेकी देशहरुलाई हेरे पुग्छ, किनभने  ती देशको मुद्रास्फिति दर करिब २ प्रतिशत मात्र रहेको छ । 

लिराको बढ्दो संकटले अन्य विकासशील र विकासोन्मोख देशलाई समेत चपेटामा पार्नसक्ने चिन्ता समेत बढ्न थालेको छ । कतिपय विश्लेषकको भनाईमा अहिलेको टर्कीको संकट सन् २००८ मा देखिएको ग्रीस संकट जस्तै हो । तर, अर्काथरि अर्थशास्त्री भने यो तर्कप्रति असहमति जाहेर गर्छन्, उनीहरुको भनाईमा टर्कीको अर्थव्यवस्था ग्रीस भन्दा ४ गुणा ठूलो छ र यसको आवादी समेत ग्रीसको तुलनामा ७ गुणा बढी छ । 

जारी संकटबाट मुलुकलाई पार दिन टर्कीसँग विदेशी मुद्राको पर्याप्त भण्डारण छैन । हाल यो देशसँग  १३० अर्ब डलर बराबरको मात्र विदेशी मुद्रा भण्डारण रहेको  छ, जबकि विदेशी कर्जा मात्रै १८० अर्ब डलर रहेको छ । 

डलरकै कारण भारत, पाकिस्तान र नेपालको मुद्रा समेत राम्रो अवस्थामा छैनन् । 

भारतीय मुद्रा यो वर्ष मात्रै ९ प्रतिशतले कमजोर भइसकेको छ । इण्डोनेशियाको रुपैयाँ डलरको तुलनामा साढे ८ प्रतिशत अवमूल्यन भइसकेको छ भने अफगानी मुद्रामा समेत ८ प्रतिशत भन्दा बढीको गिरावट आइसकेको छ । 

भारतको  टर्कीको अर्थव्यवस्थासँग निकै कम सम्बन्ध छ । यसकारण भारतीय मुद्रा टर्कीकै कारण अझै धेरै अवमूल्यन हुने संभावना कम रहेको जानकार बताउँछन् । यसो भयो भने नेपाली रुपैयाँको अवमूल्यन समेत बढ्ने छैन । 

भारतीय रुपैयाँमा भइरहेको गिरावटको मुख्य कारण चाहि पेटोल डिजेल खरीदका लागि उसले डलरमा गर्ने गरेको भुक्तानी हो । भारतले आफ्नो कुल डलर खरीदमध्ये ७० प्रतिशत भन्दा बढी पेट्रोलियम पदार्थसँग सम्बन्धित उत्पादन खरीदमा खर्च गर्ने गर्दछ ।  

(बीबीसी, न्यूयोर्क टाइम्स, सिएनबिसी, सिएनन मनी र रोयटर्समा प्रकाशित समाचारलाई आधार बनाई तयार पारिएको रिपोर्ट)