काठमाण्डौ । आँखु खोला जलविद्युत कम्पनीको आइपीओको बाँडफाँड कात्तिक ७ गतेभित्र हुने भएको छ । 

सेयर निश्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलस्थित स्रोतका अनुसार आँखु खोलाको आइपीओ कात्तिक ७ गतेभित्र बाँडफाँड सक्ने गरी तयारी थालिएको छ ।

यो कम्पनीले सर्वसाधारणका लागि असोज २४ गतेदेखि २६ गतेसम्म आइपीओ निश्कासन गरेको थियो । आइपीओमा ८५ हजार ८ सय ८० आवेदकबाट ५९ करोड ३६ लाख बराबरको खरीद प्रस्ताव परेको छ ।

यो कम्पनीको आइपीओमा ४ गुणा बढी आवेदन परेको थियो । 

यो कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १२ लाख कित्ता र आयोजना प्रभावितले खरीद नगरेका १ लाख ७६ हजार २० कित्ता गरी कुल १३ लाख ७६ हजार २० कित्ता आइपीओ निश्कासन गरेको थियो ।

कुल निश्कासित कित्तामध्ये ५ प्रतिशत म्युचुअल फण्डहरुका लागि र २ प्रतिशत कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । यो ७ प्रतिशत बाहेक बाँकी रहेको कित्ताबाट मात्रै सर्वसाधारणलाई सेयर बाँडफाँड गरिने बिक्री प्रबन्धकले जनाएको छ । 

यो कम्पनीलाई इक्रा नेपालले सबैभन्दा कमजोर आधार भएको फाइभ ग्रेडिङ रेटिङ दिएको छ । उच्च लागत भएको यो कम्पनीमा लगानी सुरक्षित नभए पनि सर्वसाधारणले मरिहत्ते गरेका छन् ।