काठमाण्डौ । इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमीटेडको आइपीओ ग्रेड फाइभको ग्रेडिङ्ग प्रदान गरेको छ । 

यसको अर्थ यो कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । 

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड-१ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड-५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।

आँखु खोलाले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि गरी कुल २० करोड बराबरको आइपीओ निश्कासन गर्दैछ ।

यो कम्पनीलाई धितोपत्र बोर्डले बुधबार १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको थियो । कम्पनीले चुक्तापूँजीको २५ प्रतिशतले हुन आउने आइपीओ निश्कासन गर्न लागेको हो । 

बोर्डका अनुसार आँखु खोलाले धादिङका आयोजना प्रभावितलाई चुक्तापूँजीको १० प्रतिशतले हुन आउने ८ करोड बराबरको ८ लाख कित्ता तथा सर्वसाधारणलाई १५ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपिओ जारी गर्नेछ ।

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिट लिमीटेड रहेको छ । 

हाल कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ रहेको छ । आइपीओपछि बढेर ८० करोडको उचाईमा पुग्नेछ ।