काठमाण्डौ । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सव “१७ औं वार्षिकोत्सव नयाँ प्रविधिको” भन्ने मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । 

वार्षिकोत्सव समारोहमा आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शुभकामना व्यक्त गरेका थिए भने अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष एवम् रोजगारदाता परिषद्को सभापतिको हैसियतले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं अधिवेशनमा भाग लिन जेनेभामा रहेकाले भिडियोमार्फत पठाएका शुभकामना सन्देश प्रस्तुत गरिएको थियो ।

वार्षिकोत्सवमा कम्पनीको सत्र वर्षे यात्रामा निरन्तर सेवा लिने सेवाग्राहीमध्ये विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्त गर्ने १७ गरी कूल ३४ जना सेवाग्राहीहरुलाई सिस्टममा आधारित रहेर ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिएको थियो । 

विजेता घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमईका सेवाग्राहीहरुलाई धन्यवाद व्यक्त गरेका थिए भने आगामी दिनमा आइएमई सेवालाई अझै परिस्कृत र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीहरुको निरन्तर विश्वासले आफूू लगायत आफ्नो टीमलाई काम गर्ने थप उर्जा मिलेको बताए ।

१७ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक खेलकुदका विजेता तथा उपबिजेताहरुलाई प्रबन्ध निर्देशक हेमराज ढकालले पदक, ट्रफी एवम् शिल्ड प्रदान गरेका थिए । कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो ।

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी  १५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,१०० सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।