काठमाण्डौ । नेपालस्थित आइएमई लिमिटेड र इण्डियास्थित मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता भएको छ । मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रबन्धक आर. के. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट  प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

गत आइतबार पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेल,  मुथुत फाइनान्स इण्डो–नेपाल रेमिटेन्स प्रमुख अनिल कार्की र दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता थियो ।

सम्झौताअनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नुहुनेछ । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सयभन्दा बढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिनेछ । नगदभुक्तानी सेवाका अतिरिक्त खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ। नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिङ साझेदार संस्था हुनेछन्।

कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आइएमई र मुथुत फाइनान्सको  सहकार्यपछि भारतमा रहँदै आएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताए । 

प्रबन्ध निर्देशक हेमराज ढकालले नेपालको पहिलो र सबैभन्दा ठूूलो रेमिटेन्स कम्पनी आइएमई र मुथुत फाइनान्सको सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै इण्डो–नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुथुत फाइनान्सका प्रमुख महाप्रवन्धक बिजिमोनले नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आइएमईसंगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरे ।