काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको प्रक्रिया अगाडि बढाएको छ । 

उसले १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता आइपीओ निश्कासनका लागि सिभिल क्यापिटललाई बिक्री प्रबन्धक बनाएको छ । योसँगै आइपीओ निश्कासनको प्रक्रिया सुरु भएको बताइएको छ । 

आइएमई लाइफ र सिभिल क्यापिटलका अधिकारीहरुले सेयर निश्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता गरेका हुन् । सम्झौतामा आइएमई लाईफका निमित्त महाप्रबन्धक दिनेश अमात्य  र सिभिल क्यापिटलका निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरेका छन् ।

हाल आईएमई लाइफको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैंया रहेको छ । आइपीओ बिक्रीपछि कम्पतीको चुक्तापूँजी बढेर २ अर्बको उचाईमा पुग्नेछ भने कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०ः३० मा रुपान्तरण हुनेछ ।