काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र नेपाल बंगलादेश बैंक लिमिटेड बीच ‘आइएमई पे’ मोबाइल मनिमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल बंगलादेश बैंक लिमिटेडको तर्फबाट प्रमुख संचालन अधिकृत सुरेश देवकोटाले सोमवार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार नेपाल बंगलादेश बैंक लिमिटेड ‘आइएमई डिजिटल’को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

साथै नेपाल बंगलादेश बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।