काठमाण्डौ । भारतमा पेट्रोलियम मूल्य घटेको दुई दिनपछि नेपाल आयल निगमले पनि पेट्रोल, डिजेल, मट्टितेल र एलपीजी ग्यासको मूल्य समायोजन गरेको छ । 

मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्यमा प्रति लिटर २ रुपैयाँ मूल्य समायोजन गरेको हो । 

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार मूल्य समायोजनपछि अब पेट्रोल प्रति लिटर ९७ र मट्टितेल तथा डिजेल प्रतिलिटर ७३ रुपैयाँ पर्नेछ । यसअघि पेट्रोल ९९ र मट्टितेल तथा डिजेल प्रतिलिटर ७५ रुपैयाँ पर्दथ्यो । 

घिमिरेका अनुसार एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिन्डरमा २५ रुपैयाँ सस्तो भएको छ । यसअघि १४ सय रुपैयाँ प्रतिसिलिन्डरमा पाइने ग्यास अब १३ सय ७५ रुपैयाँ मात्र पर्नेछ । 

स्वचालित मूल्य प्रणाली अनुसार इण्डियन आयल कर्पोरेसन(आइओसी)ले प्रत्येक अंग्रेजी महिनाको सुरुवातमा पठाउने मूल्य सूचि अनुसार नै आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गर्छ । यो पटक पनि सोही प्रक्रिया अनुसार आइओसीबाट मूल्य केही घटेर आएकोले घरेलु बजारमा समेत मूल्यमा समायोजन गरिएको प्रवक्ता घिमिरेले प्रष्ट्याएका छन् । 

भारतमा आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटेको थियो । त्यहाँ पेट्रोलमा प्रति लिटर २ रुपैयाँ २७ पैसा र डिजलमा प्रति लिटर ३ रुपैयाँ २१ पैसाको दरले मूल्य घटेको थियो । मूल्यमा कटौतिपछि भारतको राजधानी दिल्लीमा पेट्रोल ६२.५२ भारुबाट घटेर ६१.०९ भारुमा झरेको थियो । यस्तै, डिजलको मूल्य प्रतिलिटर ५४.२८ भारुबाट घटेर ५२.२७ भारुमा आइपुगेको थियो ।