काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा काठमाण्डौंकोे टेकूस्थित अम्बे कम्प्लेक्समा फाल्गुण २९ गते मंगलबारदेखि संचालनमा ल्याएको छ । 

सो शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरे । सो अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । 

समारोहमा स्थानीय उद्योगी, व्यापारी लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधि, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति थियो । 

शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईले कम्पनीले छोटो समयमै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिंदै बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिए । 

सो अवसरमा बिमा क्षेत्रको विकास र विस्तारका लागि सातवटै प्रदेशको विभिन्न भागमा आफ्नो उपस्थिति जनाई लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गरी अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्न सफलता मिलोस भनि शुभकामना व्यक्त गरे ।

सोही अवसरमा अध्यक्ष चापागाईले सबैले आ–आफ्नो चल–अचल सम्पत्तिको बीमा गरेर ढुक्क भएर व्यापार व्यवसाय विस्तार गर्न पनि सबैलाई आग्रह गरे ।

सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभर नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी दिए । 

कम्पनीको आज उद्घाटन भएको शाखासहित ३३ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई उच्चकोटीको सेवा प्रदान गर्ने जानकारी दिए । 

कार्यक्रममा अध्यक्ष ढकालले कम्पनीले आफ्नो लक्ष्य निर्धारण गरेको र आउँदो दिनमा एक सफल र सवल कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडि बढ्ने जानकारी दिए । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आ.ब. २०७४/०७५ को दोश्रो त्रैमाससम्ममा ४३ करोड बीमा शुल्क आर्जन गरेको, कूल लगानी ८५ करोड त्यसैगरी खुद नाफा ४ करोड ८२ लाख आर्जन गर्न सफल भएको जानकारी दिंदै आज उद्घाटन भएको शाखा सहित शाखा तथा सेवा काउण्टर गरी ४३  स्थानबाट सेवा दिईरहेको साथै २२० जना कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको, कर्मचारी भर्ना गर्दा नयाँ र सकारात्मक सोच भएका व्यक्तिहरुलाई छनौट गरी नयां रोजगारीमा जोड दिइरहेको सेमत जानकारी गराए ।