-भक्तराज रसाइली
काठमाण्डौ । आइपीओ बाँडफाँडका समाचारहरुमा आउने एउटा तस्वीर जो सबैका लागि जिज्ञासा बनेको हुनसक्छ । उनी को होलान् ? किन सधैं मिडियामा छाउँछन् ? किन प्राय सबै आइपीओ बाँडफाँडको फोटोमा उनै मात्र आउँछन् ? एउटा परिचित अनुहार जो आईपीओ बाँडफाँडका अधिकांश कार्यक्रममा विभिन्न अनलाइन मिडियामा सेलिब्रेटीझैं पुलुक्क झल्किन्छन् । भन्नेहरुले उनलाई ‘आइपीओको धमला’ समेत भन्ने गर्छन् । ती व्यक्ति हुन् लक्ष्मणबहादुर श्रेष्ठ । श्रेष्ठ पूँजीबजारमा लगानीकर्ताका रुपमा विगत ३४ वर्षदेखि सक्रिय छन् । साँखु घर भएका उनी हाल डिल्लीबजारका बासिन्दा हुन् ।

विगत ७/८ वर्षदेखि आइपीओ बाँडफाँड कार्यक्रमा निरन्तर गइरहेका श्रेष्ठले कमर्ज एण्ड ट्रष्ट बैंकको आइपीओ बाँडफाँड कार्यक्रमबाट यात्रा सुरु गरेका रहेछन् । 

प्राय आर्थिक कार्यक्रमहरुमा जान इच्छुक श्रेष्ठ कम्पनीका बारेमा बुझ्ने राम्रो मौका भएकैले जाने गरेको बताउँछन् । उसो त त्यस्ता कार्यक्रमहरुमा मर्चेन्ट बैंकरहरुले आफैं सम्पर्क गरेर निमन्त्रणा गर्ने भएकाले कार्यक्रममा झुल्किने गरेको श्रेष्ठको दाबी समेत छ । 

कम्पनीका सीइओ तथा आधिकारिक अधिकारीसँगको सहज उपलब्धता हुने भएका कारणले समेत सूचना तथा जानकारी पाइने आशले श्रेष्ठ जाने गरेको पाइयो । आइपीओ बाँडफाँड मात्र हैन कि उनी मर्जर तथा एक्विजिसन कार्यक्रम, वार्षिक साधारणसभा, अन्य कार्यक्रमहरुमा पनि जाने गर्छन् । यस्ता कार्यक्रममा जाँदा रमाइलो लाग्ने गरेको उनी बताउँछन् । 

श्रेष्ठले २०४२ सालमा नेपाल ग्रीनलेज बैंक(हाल स्टाण्डर्ड चार्टड बैंक)को आइपीओ आवेदन भरेपछि प्राथमिक बजारमा पाइला सुरु भयो । ग्रीनलेज बैंकको त्यतिबेला उनले १५ कित्ता सेयर हात पारे । तर त्यो आइपीओ भरिदिएका थिए उनका दाजु स्व.जीवन श्रेष्ठले । 

प्रायः कसैले डोहोर्याएर नै सेयर बजारमा प्रवेश हुने गरेको पाइएकाले उनले आफ्नो दाजुका कारण आज सेयर बजारमा भएकोमा भाग्यमानी ठान्दछन् । २०४२ सालबाट २०५२ सालसम्म प्राथमिक बजारमा रमाएका श्रेष्ठले त्यसपछि विश्राम लिए, तर २०६५ सालमा पुनः पूँजीबजारमै कमब्याक भएका श्रेष्ठले सिटिजन्स बैंकको आइपीओबाट हालसम्म पनि प्राथमिक बजारमा सक्रिय लगानी गरिरहेका छन् ।

आइपीओमा परेको सेयर के अहिलेसम्म राख्नुभएको छ ? भन्ने बिजशालाको जिज्ञासामा श्रेष्ठ भन्छन्–‘आइपीओमा परेको सेयर बेचिहाल्छु ।’
प्रायः न्यूनतम कित्ता सेयर आइपीओमा भर्दै आएका उनी सेयरबजारमै पूर्णकालीन लगानीकर्ता भन्न रुचाउँछन् । पहिला सौखका लागि पूँजीबजार छिरेका उनी अटोमेटिक सेयरमा झुकाव बढेको दाबी गर्छन् ।

यसैबीच उनले युनिलिभर कम्पनी(नेप्सेमा सूचीकृत कम्पनीमध्ये हालसम्मकै महङ्गो मूल्यको धितोपत्र)को आइपीओ समेत भरे, तर परेन । 
हालसम्म भरेका आइपीओहरुमा सबैभन्दा बढी परेको आइपीओ भने सांग्रीला डेभलपमेन्ट बैंक रहेछ, जुन श्रेष्ठले ७० कित्ता हात पारे । 

‘तपाईलाई आइपीओको धमला भन्छन् नि’ भन्ने प्रश्नमा श्रेष्ठले भने–‘समय व्यतीत गर्न र १–२ वटा नयाँ कुरा बुझिने तथा सिकिने ध्येयले म जाँदा भन्छन् भने भन्न दिनुस् । हुन त म आइपीओको सेलिब्रेटी नै भएँ है ।’–उनले ठट्यौली पारामा भने ।

पहिला अहिले जस्तो नयाँ कम्पनीले आइपीओ जारी नगरेको, तर हाल यसको संख्या बढेको उल्लेख गर्दै श्रेष्ठले भने–‘आइपीओबाट पैसा नकमाए पनि नाम चाहिँ कमाएँ ।’

के श्रेष्ठ प्राथमिक बजारमा मात्र सीमित हुन् त ? अवश्य हैन, श्रेष्ठ दोस्रो बजारमा समेत  रु. १.५ करोड पोर्टफोलियो बनाई जमेका लगानीकर्ता हुन् । उनी दोस्रो बजारमा सर्टटर्म कारोबारीको रुपमा सक्रिय छन् ।

सेयर कारोबार खुल्ने दिनहरुमा उनी हात्तीसारमा रहेको ब्रोकर नम्बर ३९ अर्थात सुमेरु सेक्युरिटीज प्रालिमा दिउँसो ११ बजेदेखि ३ बजेसम्म सधैं भेटिन्छन् । २०६८ सालताका प्राइम कमर्सियल बैंकको प्रतिकित्ता ६ सयले १ सय कित्ता खरिद गरी दोस्रो बजारमा समेत हात हाल्न पुगेका उनले सधैं सर्टटर्म कारोबार गर्ने गरेको बताए । 

सर्टटर्म कारोबारमा हुने अत्यधिक जोखिम मोलिरहेका श्रेष्ठले आफूमा नीहित  आत्मविश्वास र स्वविवेकमा लगानी गरेर नाफा कुम्ल्याउने गरेको दाबी गरे । प्रायः ७५ प्रतिशत मिलाइरहेको जिकिर गरेका श्रेष्ठले मासिक औसत ५० हजारसम्म कमाइरहेको दाबी गरे । 

कम्पनीका वासलातलाई खासै ध्यान नदिने श्रेष्ठको भनाईमा वित्तीय प्रतिवेदनको रिपोर्ट अनुसार नेपालको  सेयर बजार चलेको छैन । मार्केट डिस्प्लेमा रेञ्जमा निकै आँखा घुमाउँदै लगानी निर्णय गर्दै आएका उनले तनाव नलिई कारोबार गर्न सुझाए । भाग्यमा अधिक विश्वास गर्दै आएका श्रेष्ठले गीताको सारलाई पछ्याउँदै वर्तमानमा खुशी हुन जरुरी रहेको सुनाए ।

सेयर बजारले आफ्नो जीवन गुजारा चलाइरहेकोमा मख्ख श्रेष्ठ दोस्रो बजारमा प्रफिट बूक गरेको खण्डमा कहिल्यै घाटा नहुने दाबी गर्छन् । समयको वहावसँगै दोस्रो बजारमा खरिदबिक्री सहजता हुँदै गएपछि आगामी दिनमा बजारको भविष्य राम्रो हुने उनको भनाइ छ । ‘लोभ गरिए बजारबाट कमाउनभन्दा गुमाउनपट्टि पुगिने भएकाले बढेपछि अरुले पनि खाओस् भन्ने धारणा मेरो छ।’उनले भने–‘अधिकांश व्यक्तिमा भएको लोभकै कारण हाल थलिएका हुन् ।’

दोस्रो बजारमा दुःख कम गरी सहजै पैसा कमाउने भएकाले समेत अन्य पेशा नअँगालेको उनको बुझाइ छ ।

समयमा किनबेच नै सेयरको सफलताको सूत्र रहेको दाबी गर्ने श्रेष्ठले समयलाई ‘आत्मा’ भन्दै, प्रफिट बूकतर्फ ध्यान दिन जोड दिए । ‘आफै सबै खाउँ भन्नपट्टि लाग्दा लोभले पाएको पनि गुम्छ ।’उनले तर्क राख्दै भने–‘सेयरबाट कमाउनलाई १० रुपैयाँमा ९ रुपैयाँ खर्च गर्न पनि तम्तयार हुनुपर्छ ।’