काठमाण्डौ । बित्तीय रुपमा स्वस्थ कम्पनीको एफपीओ आइपीओकै मूल्यमा हत्याउने सपना कसको पो नहोला र ? तर, सबैको सपना पूरा हुँदैन । यही संकेत बहुुचर्चित नेपाल ग्रामीण विकास बैंक लिमीटेडको आइपीओमा तेश्रो दिनसम्म परेको आवेदनमा समेत देखिएको छ । 

यो कम्पनीले १ सय रुपैयाँ अंकित दरमै निश्कासन गरेको ९ करोड ७५ लाख रुपैयाँ बराबरको एफपीओमा भदौ २९ गते अर्थात तेश्रो दिनसम्म १ अर्ब ६० करोडको हाराहारीसम्म प्रस्ताव परिसकेको छ । तेश्रो दिनसम्ममै माग भन्दा करिब १७ गुणा बढी आवेदन परेको हो । 

देशभरका आश्वा संकलन केन्द्रबाट तेश्रो दिनसम्म यो बैंकको एफपीओमा १ लाख ४६ हजार बढी आवेदन परिसकेको छ । आज(भदौ ३० गते) यो बैंकको एफपीओ खरीद्यका लागि आवेदन दिने अन्तिम दिन हो । अन्तिम दिन अझ बढी आवेदन पर्ने गर्छ । यो हिसाबले साढे २ लाखको हाराहारीमा आवेदन पर्ने देखिन्छ । 

यसरी यो बैंकको एफपीओको बाँडफाँड पनि चिठ्ठाको माध्यमबाटै हुने देखिएको छ । 

नेपाल ग्रामीण विकास बैंकले कुनै प्रिमियम मूल्य नराखी अंकित दर(रु १००)मै ९ लाख ७५ हजार कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन गरेको हो । यो कम्पनीको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७ सय १० रुपैयाँ रहेको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ४ हजार ८ सय ७० कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । 

हाल यो कम्पनीको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी ६५ करोड ५० लाख र चुक्तापूँजी ५५ करोड ७५ लाख रहेको छ । 

विवरणपत्र तथा दरखास्त फारम प्रभूू क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालय, नेपाल ग्रामीण विकास बैंकको बुटवलस्थित मुख्य कार्यालयमा समेत पाइनेछ । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी बैंक तथा बित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट समेत एफपीओका लागि आवेदन दिन सकिनेछ । 

आर्थिक वर्ष २०७३/७४ मा यो बैंकले १६ करोड १४ लाख खूद नाफा आर्जन गरेको थियो । कर्मचारी व्यवस्थापन खर्च र अन्य केही अनपेक्षित खर्च बढ्दा यसको नाफा केही खुम्चिए पनि समग्रमा यो बैंकको अवस्था राम्रो छ । यहीकारण समेत एफपीओमा ढुक्कले लगानी गर्दा डूूब्ने अवस्था छैन । यही सन्देश प्रवाह भएका कारण समेत लगानीकर्ताले ग्रामीण बैंकको एफपीओमा मरिहत्ते गरेका हुन् ।